जेनेभा- विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा मे २१ देखि ३० सम्म आयोजित ७६ रौं विश्व स्वास्थ्य सम्मेलनका प्रतिनिधिहरूले डुबेर हुने मृत्यु रोकथामका लागि विश्वव्यापी कार्यलाई तीव्रता दिने प्रस्तावमा सहमति जनाएका छन्।
संगठनका अनुसार डुबेर संसारभरी प्रत्येक वर्ष २ लाख ३६ हजार जनाको मृत्यु हुन्छ। यो बालबालिकमा चोटपटकबाट हुने मृत्युको प्रमुख कारण पनि हो। बालबालिकाहरु डुबेर मृत्यु हुने मध्ये ९०प्रतिशतभन्दा बढी घटना न्यून र मध्यम आय भएका मुलुकहरूमा हुने गर्दछन्।
महासभाले सदस्य राष्ट्रहरूलाई आ-आफ्ना मुलुकमा डुबेर हुने मृत्युको राष्ट्रिय स्तरमा मूल्यांकन गर्न र सोको रोकथामका लागि बहुक्षेत्रीय साझेदारीमा आधारित कार्यक्रमहरूको विकास र कार्यान्वयन गर्न अनुरोध गरेको छ। विश्व स्वास्थ्य संगठनले संयुक्त राष्ट्रसंघीय प्रणालीका संगठनहरू, अन्तर्राष्ट्रिय विकास साझेदारहरू र गैरसरकारी संस्थाहरूसँग सहकार्यमा डुबेर हुने मृत्यु रोकथामका लागि विश्वव्यापी एलायन्स पनि स्थापना गर्नेछ।
डुब्ने समस्याको सम्बन्ध स्वास्थ्यका सामाजिक निर्धारकहरूसँग पनि रहेको तथ्यलाई जोड दिँदै महासभाले जलवायु परिवर्तनका प्रभावहरूलाई मध्यनजर गरी, असुरक्षित जल यातायात र पानीमा आधारित जोखिमपूर्ण जीविकोपार्जन सम्बद्ध मानिसहरूलाई सुरक्षित गर्न अत्यावश्यक भएको निष्कर्ष निकालेको छ।
गरिब र ग्रामीण समुदायहरूमा डुब्ने उच्च जोखिम हुन्छ, तर गरिबीले डुब्ने रोकथाम कार्यमा बाधा पुर्याउँछ। नेपालजस्ता मुलुकहरूमा मानिसका दैनिक जीविकोपार्जनका आवश्यकताहरूले उनीहरूसँग बालबालिकाहरूलाई रेखदेख गर्न समय अभाव भएकाले बालबालिकामा डुबेर मृत्यु हुने जोखिम झन उच्च हुन्छ।
यस विषयमा अनुसन्धान गरेका युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्डका रिसर्च फेलो डा पुष्पराज पन्तले जनमानस र नीतिनिर्माताहरूमा डुबेर हुने मृत्युका बारेमा त्यति जानकारी नभएको बताए। धेरै मानिसहरूलाई पानीमा डुब्ने जोखिमको पूर्वानुमान गर्न र रोकथाम गर्न सकिंदैन भन्ने भ्रम रहेको छ।
नेपालमा खोला, नदी, ताल र खाडलमा जमेको पानीमा डुबेर वर्षेनी कम्तीमा १ हजार ५ सय जनाको डुबेर मृत्यु हुने गरेको अनुमान छ। कतिपय अवस्थामा स-साना शिशुहरू घरेलु प्रयोगको लागि भण्डार गरेर राखेको पानीमा पनि डुबेर ज्यान गुमाउँछन्। अभिभावक र समुदायलाई जागरुक बनाएर, साना शिशुहरुको हेरचाहको प्रोटोकल बनाएर, स्थानीय निकायलाई जिम्मेवार बनाउनुका साथै नीतिगत रुपमा सम्बोधन गरिएमा डुबानबाट हुने मृत्युका घटना रोकथाम गर्न सकिने डा पन्तले बताए।
विश्व स्वास्थ्य संगठनको महासभाले पारित गरेको यस संकल्प प्रस्तावले डुबेर हुने मृत्युको जोखिम उच्च भए पनि त्यसको रोकथाममा खासै सक्रियता नदेखाएका मुलुकलाई दीगो विकास लक्ष्य प्राप्तिमा सहायक यस कार्यलाई प्राथमिकतामा राख्न प्रेरित गर्ने विश्वास लिइएको छ।