काठमाडौं - भारतको गुजरातस्थित अमरेली जिल्लामा रहेको सावरकुंडलाको एक अस्पतालमा अनौठो र दुर्लभ घटना बाहिर आएको छ।
सुन्दा अचम्म लाग्न सक्छ। तर एक बिरामीको आँखाको परेलीबाट चिकित्सकले २५० वटा जीवित जुम्रा शल्यक्रिया गरेर निकालेका छन्।
सूरतकी ६६ वर्षीया गीताबेन आँखा चिलाउने, दुख्ने समस्या भएपछि उपचारका लागि अस्पताल पुगिन्। करिब डेढ महिनादेखि उनको आँखाको परेलीमा निकै दुखाई हुने र चिलाउने समस्या थियो। उनलाई रातमा निद्रा पनि लाग्दैन थियो।
अस्पतालका नेत्र रोग विशेषज्ञ डा मृगांक पटेलका अनुसार ती बिरामीको परेलीमा एक वा दुई नभई २५० वटा जीवित जुम्रा र ८५ वटा अण्डा भेटिएको थियो। उज्यालो प्रकाशको संवेदनशीलता र चिकित्सा विज्ञानको सिमितताका कारण चिकित्सकलाई बिना इन्जेक्सन जुम्रा हटाउन शल्यक्रिया गर्नुपर्यो। उक्त शल्यक्रिया दुई घण्टासम्म चल्यो। चिकित्सकीय भाषामा यो अवस्थालाई ‘फिथरियासिस पैल्पेब्रारम’ भनिन्छ।
बिरामीलाई के भएको थियो ?
लल्लुभाई सेठ आरोग्य मन्दिर अस्पतालका डा पटेलका अनुसार ती बिरामीलाई डेढ महिनादेखि नै परेलीमा निकै चिलाउने समस्या थियो।
उनले भने, ‘परेलीमा जुम्रा हुनु धेरै नै असामान्य घटना हो। जब हामीले ध्यानपूर्वक हे¥यौँ उनको परेलीमा जुम्राहरु चलिरहेको देखिन्थ्यो। जुम्राको अण्डासमेत देख्यौ। यो अवस्थालाई चिकित्सकीय भाषामा फिथरियासिस पैल्पेब्रारम भन्छौ।’
बिरामीलाई यो समस्याबारे तत्काल समेत भन्न नसकिएको उनले बताए। ‘कतै बिरामी यो समस्या सुनेर डराउने आत्तिने त होइन भनेर हामीले पहिले उनलाई सम्झायौँ। किनभने उनको परेलीमा जुम्राको संख्या धेरै नै थियो।’ उनले भने।
यसअघि ती बिरामी यो समस्या लिएर अन्य अस्पताल समेत गएकी थिइन्। तर समस्या पत्ता लागेको थिएन। डा पटेलका अनुसार यो परजीवि (जुम्रा) ले शरीरको रगत चुसेर खाने गर्छ। परेलीको छाला शरीरको अन्य भागको तुलनामा निकै पातलो हुने भएकाले यो भागमा जुम्राले सजिलैसँग रगत चुस्न सक्छन्।
रगत चुस्नका लागि यी जुम्राहरु परेलीमै टाँसिएर बस्ने भएकाले बिरामीलाई चिलाउने समस्या आउने गरेको उनले बताए। बिरामी आफैँले कोशिस गरेपनि सजिलैसँग परेलीको जुम्रा नहट्ने गरेको उनले बताए।
यस प्रकारको जुम्राहरु उज्यालो प्रकाशप्रति निकै संवेदनशील हुन्छन्। उनीहरु उज्यालो प्रकाशमा यताउता हिड्न थाल्छन्। त्यसैले यसलाई हटाउन म्याकफर्सन नामको एक विशेष उपकरणको मद्दत लिनुपर्ने उनले बताए। यो उपकरणको मद्दतबाट नै एक एक जुम्रालाई समातेर परेली बाहिर निकाल्नुपर्ने हुन्छ। यो घटना करिब पाँच महिना पहिलेको हो।
कसरी हुन्छ यो संक्रमण ?
अमेरिकी राष्ट्रिय जीव प्रौद्योगिकी सूचना केन्द्रका अनुसार फ्थिरियासिस पैल्पेब्रारम एक दुर्लभ चिकित्सकीय स्थिति हो। जसमा फ्थिरस प्यूबिस नामको जुम्राले परेलीमा संक्रमण गराउँछ। यो संक्रमण सामान्यतया कुनै वस्तुको सम्पर्कबाट फैलने गर्दछ। गम्भीर रुपमा परेली चिलाउनु, आँखा रातो हुनु र निद्रा नलाग्नु यसको लक्षणहरु हुन्। यस संक्रमणको निदान मुश्किल हुन सक्छ र यो अन्य आँखाको संक्रमण जस्तो सामान्य हुँदैन।
अहमदावादस्थित धु्रव अस्पतालका नेत्र रोग विशेषज्ञ डा हर्षद अगाजा भन्छन्, ‘यो एक निकै दुर्लभ समस्या हो। यस किसिमको संक्रमण विशेषगरी सरसफाईको कमीले हुन्छ।’
डा पटेल यो संक्रमण मानिससँगै घरपालुवा गाई भैसी, बाख्रा जस्ता पशुलाई पनि हुने गरेको बताउँछन्। सरसफाईमा ध्यान नदिने हो भने यो जुम्रा सिरक, तन्ना र अन्य कपडामा पनि फैलन सक्छ। योसँगै संक्रमित घर पालुवा पशुको सम्पर्कमा आउँदा यो जुम्रा हाम्रो शरीरमा टाँसिने र टाउकोदेखि आँखाको परेलीसम्म पुग्न सक्ने उनले बताए।
टाउकोमा हुने जुम्रा र आँखामा हुने जुम्रामा फरक हुने अर्का डा अलाप बाविशी बताउँछन्। आँखाको जुम्रा सेतो भागमा घुम्छ र उज्यालो प्रकाशबाट भाग्छ। यो परेलीको भित्र बस्छ, जहाँ धेरै अध्यारो हुन्छ। यो जुम्रा छालामा टाँसिएर बस्ने भएकाले माइक्रोस्कोपको सहायताले मात्र देख्न सकिन्छ।
- बीबीसी हिन्दीबाट साभार