सामाजिक सञ्जालमा पछिल्लो समय धेरै मानिसले आफूलाई छाला विज्ञ भन्दै गलत उपचार गरिरहेको भिडियोहरु देखिन्छ। डाक्टरले गर्नुपर्ने उपचार डाक्टर नै नभएका व्यक्तिले गर्दै भिडियो बनाएर हालेको देखिन्छ। एकातिर गलत अभ्यास भइरहेको छ भने अर्कोतर्फ जनस्वास्थ्यमाथि नै खेलबाड हुनुका साथै ठगी समेत भइरहेको अवस्था छ।
आफूलाई स्किन स्पेसलिस्ट, विज्ञ भनेर ल्याब टेक्निसियन, नर्स, ब्युटिसियनहरुले मेडिसिन सिफारिस गर्नेदेखि बिरामीमा विभिन्न किसिमको प्रविधि, इन्जेक्टेबल कुराहरु बोटक्स, फिलर, थे्रडहरु प्रयोग गर्ने गरेको पाइन्छ। यो सरासर गलत हो। विशेषज्ञले गर्नुपर्ने कुराहरु पनि युट्युबमा हेरेको भरमा वा कतै ५–१० मिनेट देखेको भरमा आफूले आफूलाई विज्ञ भनेर जनतामा भ्रम सिर्जना गरेर ठगिरहेका छन्।
सोकल्ड स्किन एक्स्पर्ट भन्नेहरुबाट जथाभावी उपचार गर्दा छालामा असर नपर्दासम्म कसैलाई मतलब हुँदैन तर छाला बिग्रिएपछि जीवनभर पछुतो हुन्छ। राम्रो हुन चाहँदा झनै बिग्रेर आएका धेरै केसहरु छन्।
नेपाल मेडिकल काउन्सिलले यस विषयमा पनि आवश्यक कदम अगाडि बढाइसकेको छ। डर्माटोलोजिस्ट सोसाइटीको तर्फबाट पनि यो कुरा नियमन र नियन्त्रण हुनुपर्छ। जनताको स्वास्थ्यमा असर पर्दै गएको छ र आगामी दिनमा असर बढ्छ भनेर रोक्नुपर्छ भनेर उजुरी दिएको अवस्था छ।
म आफैं पनि नेपाल मेडिकल काउन्सिलको सदस्य भएकाले यो कुरा हामीले काउन्सिलमा पनि उठाइरहेका छौं। तर काउन्सिल एक्लैले पनि नियन्त्रण गर्न सक्दैन। त्यसैले अरु काउन्सिल र सरकारले पनि सहयोग गर्यो भने छालाको सौन्दर्य र उपचारमा भइरहेको विकृति रोक्न सकिन्छ।
मेडिकल काउन्सिलसँगै नर्सिङ र स्वास्थ्य व्यवसायी परिषद्ले पनि यो क्षेत्रका विकृति रोक्न आवश्यक कदम चाल्नुपर्ने अवस्था छ।छाला विज्ञ भन्दै गलत उपचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। स्वास्थ्य मन्त्रालयले पनि छाला मात्र हो, सौन्दर्य मात्र हो भनेर छाला रोगमा भएको विकृतिमा ध्यान दिएको छैन।
-(छाला रोग विशेषज्ञ डा ढकालसँग रिता लम्सालले गरेको कुराकानीमा आधारित)
यो पनि:
छाला उपचारमा मनपरी: विज्ञ भन्दै ठग्दै, समस्या झन् बल्झाउँदै
'छाला उपचारका नाममा भइरहेको गलत अभ्यास रोक्नुपर्छ'