मल्टिपल स्क्लेरोसिसलाई छोटकरीमा (एमएस) भन्ने गरिन्छ। यो एकप्रकारको नसासम्बन्धी रोग हो र यसले हाम्रो मस्तिष्कलाई हानी पुर्याउँछ। एमएसको शाब्दिक अर्थ मल्टिपल (धेरै), स्क्लेरा (खाटा) अर्थात यस रोगले नसामा धेरै खाटाहरू उत्पन्न गराउँदछ। उदाहरणका लागि छालाम कतै घाउ आएमा घाउ पुरिएपछि घाउको खाटा देखिन्छ। त्यसैप्रकार मस्तिष्कका नशामा यस रोगले एक किसिमको घाउ उत्पन्न गराउँदछ र घाउ पुरिएर खाटा पर्ने गर्दछ।
मल्टिपल स्कलेरोसिस हुनुका कारण
हाम्रो शरीरमा रोग प्रतिरक्षा प्रणालीले बाह्य कीटाणु, जीवाणु तथा अन्य कुराहरूबाट बचाउने गर्दछ। यसको कार्य निरन्तर जारी रहनुपर्दछ र यसमा केहि गडबडी भएमा प्रतिरक्षाजन्य रोगहरू लाग्दछ। जसमध्ये एमएस प्रमुख हो।
इतिहास पल्टाउँदा
प्राध्यापक डा मर्रेद्वारा लिखित ' मल्टिपल स्क्लेरोसिसः द हिस्टोरी अफ डिजिज' अनुसार यो रोग सबभन्दा पहिले हल्याण्डका लिडविना भन्ने महिलामा देखिएको थियो। १६ वर्षको उमेरमा (सन् १३९५) लिडविनाको दृष्टिमा कमजोरी र हातमा लाटोपन देखिएको थियो। यस रोगले ग्रस्त पारेर सन् १४३३ मा उनको देहान्त भएको थियो। यस रोगको बारेमा व्यापकता नशारोग विशेषज्ञ डा जेन मार्टिन चार्कोटले दिएका थिए। उनले यस रोगको विभिन्न लक्षणको बारेमा पनि कुरा गरेका थिए। सन १९७७ मा डा लरेन्स ज्याक्सले बफेलो सिटी न्यूयोर्क, अमेरिका (जहाँबाट यस लेखका लेखकले पढ्ने मौका पाएका थिए) ले यस रोगको औपचारिक औषधि इन्टरफेरोन पत्ता लगाएका थिए।
यो रोग कसलाई लाग्न सक्दछ?
एमएस जुनसुकै उमेर वा लिङ्गका व्यक्तिलाई लाग्न सक्छ तर सबैभन्दा बढी २० वर्षदेखि ४० वर्षसम्मका व्यक्तिमा देखिएको छ। यो रोग पुरुषको तुलनामा महिलामा दुईदेखि तीन गुणासम्म बढी देखिएको छ। त्यसै गरी उर्वर उमेरका व्यक्तिमा यस रोगले विकलाङ्गतापरनिर्भरता निम्त्याउँछ।
यस रोगका लक्षणहरूः
यस रोगमा विभिन्न लक्षणहरू देखिन सक्छन्। जसमध्ये सबैभन्दा बढी देखिनेः अत्यधिक थकान, हिडडुलमा समस्या, दृष्टिमा समस्या (धमिलो देख्ने), हातखुट्टा र शरीरका अन्य भागमा झमझम वा लाटो हुनु, मांसपेशीमा ऐठन हुनु, मांसपेशी कडापन हुनु, शरीरको संतुलन र समन्वयमा समस्या हुनु, दुखाइ (मांसपेशी वा नशाको दुखाइ) हरू पनि देखिएको छ। त्यस्तै पिशाबमा गडबडी (पिसाब रोक्न गाह्रो हुने, आदि) पनि निकै धेरै देखिन्छ।
रोकथामका उपाय
एमएस पूर्णतया रोकथाम गर्न नसकिने रोग भएपनि यसको रोकथामका लागि धेरै शोधहरू भएका छन्। शोधले शरीरिक तौलको सन्तुलन, भिटामिनको उचित मात्रा (जस्तै भिटामिन डी), शारीरिक व्यायामले यसको रोकथाममा सहयोग गर्दछ। व्यायाम गर्ने व्यक्तिहरूमा एमएस लगभग ३१ प्रतिशतले कम हुँदो रहेछ। रोग लागिसकेपछिका औषधीहरू प्रायः जसो रोग प्रतिरक्षा प्रणालीमा काम गर्दछ। अहिलेसम्म यस रोगको पूर्णतया उपचार, निर्मुलीकरण गर्न सकिएको छैन। यसको उपचार विभिन्न अवस्थामा विभिन्न तरिकाका औषधीहरूबाट गरिन्छ। उपचारका लक्ष्यहरू एमएस रोगको पुनरावृत्तिलाई रोक्नका लागि, एमएस को लक्षणले गरेको क्षतिलाई न्यूनीकरणका लागि हुन्छन्। अहिले विभिन्न किसिमका औषधीहरू उपलब्ध भएका छन्। इन्टरफेरोन भन्ने औषधी सुईको माध्यमबाट लगाइने प्रमुख औषधी मानिन्छ।
एमएस रोग लागेकाले के गर्ने?
यस रोगले गर्ने असरलाई कम गर्न केही सुझावहरू अपनाउन सकिन्छः
जीवनशैलीमा परिवर्तन
स्वस्थ्य र सफा खानेकुरा
आफूलाई निरन्तर व्यायाम गर्न अभिप्रेरित गर्ने
निद्रा र खानपिनलाई प्राथमिकता दिनुपर्ने (अनिद्राको अवस्थाले पनि यो रोग बल्झाउन सक्छ)
नेपाल मल्टिपल स्क्लेरोसिस सोसाइटीले के गर्दछ?
यो एउटा साझा अवधारणा लिएर बनाइएको संस्था हो। यस संस्थाले एमएस रोगको विषयमा सही जानकारी र अपडेटहरू जानकारी गराउँदछ। यस संस्थाले यो रोगको जानकारी गराउनुको साथै रोग लागिसकेका व्यक्तिको हकहित तथा अधिकार संरक्षणका लागि पनि काम गर्दछ। हामीलाई थाहा छ र हामी बुझ्दछौं कि यो रोग लागिसकेपछि जीवन कस्तो हुन्छ। हामी तपाईंहरूसँगै छौं।
(लेखक मल्टिपल स्क्लेरोसिसका विशेषज्ञ डाक्टर हुन्।)