काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन)ले फार्मा कन्क्लेभको आयोजना गर्ने भएको छ। संघले यही असोज २५ गते औषधि सम्मेलन गर्न लागेको हो।
संघले जारी गरेको विज्ञप्ति अनुसार 'फार्मा कन्क्लेभ – २०२३' एपोनले नेपालमै पहिलो पटक गर्न लागेको हो। काठमाडौँको याक एण्ड यति होटलमा हुने सम्मेलनको मुख्य उद्देश्य स्वदेशी औषधि बजारमा नयाँ अवसर सिर्जना गर्ने, औषधि उत्पादन तथा बजारीकरणका नियमक नीतिहरुको निरन्तरता र औषधि निर्यातलाई अन्वेषण गर्ने लगायत रहेको छ।
‘खासगरी नेपाली औषधि उद्योगको विकासको लागि समयानुसार कस्ता औषधि नीतिहरु बनाउन सकियो भने औषधि बजारलाई सुधार र स्तरोन्नती गर्न सकिन्छ , विश्व बजारको माग अनुसार औषधि उद्योगहरुले कस्ता उत्पादनमा जोड दिने ? नेपालको औषधि उत्पादनको सुरक्षा र प्रभावकारिता कसरी कायम राख्ने भन्ने विषयमा सम्मेलन केन्द्रीत रहन सक्छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाली औषधि उद्योग विकासका चुनोती र अवसरहरुको जानकारी र औषधि उद्योगको प्रवद्र्धन गर्नका लागि भावी रणनीतिहरु तयार गर्ने विषयमा औषधि विज्ञहरुसंग प्रत्यक्ष छलफल गर्दै निस्कर्षमा पुग्ने उद्धेश्य रहेको बताइएको छ।
आयोजकले यो सम्मेलनलाई नेपाली औषधि उद्योगका उत्पादक तथा प्रतिनिधि, औषधि व्यवसायी, औषधि अनुसन्धानकर्ता र निर्यात कर्तालाई एकै ठाउँमा ल्याउने अवसर भनेको छ। सम्मेलनमा औषधि उत्पादन तथा बजारीकरण सम्वन्धी नीतिहरुका विषयमा सरकारका प्रतिनिधि तथा नेपाल भारत, बंगलादेश लगायतका देशहरुका विज्ञहरुको समेत प्रस्तुति रहने बताइएको छ।