हाम्रो शरीरमा रहेका अन्य सम्पुर्ण अंगहरुको जति महत्व रहेको छ। त्यतीनै महत्व मुख तथा दाँतको छ। त्यसैले मुख तथा दाँतको स्वास्थ्यमा सचेत रहनु र जानाकारी लिनु आवश्यक मानिन्छ। मुख तथा दाँतले व्यक्तिको स्वास्थ्यमा मात्र नभएर उसको सौन्दर्यतामा समेत टेवा पुर्याएको हुन्छ। दाँत सफा र मजबुत भएमा उमेर पुगेपनि बुढौलीको महसुस कम गर्दछ। किनकि उसको खानपानमा सहजता, बोलीमा सहजता र शुन्दरतामा समेत दाँतले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। दाँत टम्म मिलेर रहेको अवस्थामा बोलीमा स्पष्टता रहन्छ भने दाँत टम्म मिलेर रहेका व्यक्तिको श्वासको गन्ध पनि कम आउने गर्दछ। किनकि दाँत टम्म मुखभरी रहेका व्यक्तिले अरुको तुलनामा दैनिक साँझ बिहान ब्रस गर्दछ। यसरी दैनिक दुई पटक ब्रस गर्ने बानीले व्यक्तिको मुख तथा दाँतको स्वास्थ्यमा खराबी आउँदैन। भएको समस्यामा सकरात्मक परिवर्तन आउने गर्दछ।
मुख तथा दाँतको स्वास्थ्यको बारेमा जानाकारी लिनु अत्यन्तै आवश्यक र महत्वपूर्ण मानिन्छ। नेपाली उखानै छ 'जसको दाँत बलियो उसको आँत बलियो'। दाँतलाई खानेकुरा टुक्रा पार्ने औजारको रुपमा पनि बुझ्न सकिन्छ। त्यसैले पनि मानिसको आँत बलियो अथवा शरीरलाई नै मजबुत बनाउन दाँतलाई जोगाउनु निकै जरुरी छ। दाँत मुख्य गरेर २ प्रकारका हुन्छन्।
१.प्राथमिक अर्थात अस्थायी वा दुधे दाँतः यीनीहरु २० वटा हुन्छन्। केटाकेटीमा ६ महिनाको उमेर देखि २४ महिना सम्ममा यी दाँत देखा पर्दछन्।
२. दि्तिय वा स्थायी दाँतः यी दाँत ३२ वटा हुन्छन। यी दाँतहरु करिब ६ वर्षको उमेरदेखि २४ वर्षभित्र आइसक्छन।
अस्थायी दाँतहरु भएको ठाँउमा क्रमस यी दाँतहरु प्रतिस्थापित हुन्छन।
मुख तथा दाँतको स्वास्थ्यलाई कसरी ध्यान दिन सकिन्छ?
हरेक व्यक्तिले आफ्नो मुख तथा दाँतलाई सफा राख्न दाँतलाई बलियो र मजबुत बनाउनको लागि हरेक दिन साँझ र बिहान खाना खाइसकेपछि अनिवार्य रुपमा फ्लोराइडयूक्त दन्त मन्जन र नरम खालको ब्रसले कम्तिमा २ मिनेटसम्म मुखमा रहेका सम्पुर्ण दाँतमा ब्रसले छुनेगरी नियमित ब्रस गर्नुपर्दछ। हामीले खाएको खानाका केही टुक्राहरु दाँतको छिद्र भागमा अडिएर रहेका हुन्छन्। यसरी अडिएर रहेका खानाका केही अंशहरु दाँत तथा मुखमा सड्नगई त्यहाँबाट दाँतको दुखाइको सुरुवात हुन थाल्दछ। यही दुखाइलाई हामीकहाँ दाँतमा किरा लागेर दुखेको भन्ने चलन छ। तर वास्तवमा यो किरा नभै दाँतमा सडेको खानाको कारणबाट उब्जिएको दुखाई हो। यसलाई हामी तत्काल दन्तरोग विशेषज्ञलाई भेटेर यसबारे सल्लाह लिएनौं भने यसले बिकराल रुप लिन सक्दछ।
त्यसकारण दाँत तथा मुखको स्वास्थ्यलाई मजबुत राख्नको लागि हरेक दिन साँझ र बिहान खाना खाइसकेपछि नियमित ब्रस गर्ने र दाँत तथा मुखसम्बन्धी केही थप समस्याहरु भएमा तुरुन्त दन्तरोग विशेषज्ञलाई भेटी परामर्श लिनुपर्छ।
जब बच्चा ६ महिनामा लाग्दछ त्यासपछि उसका दाँतहरु पलाउन थाल्दछन। यसपछि बच्चाको दाँतलाई जोगाउन तथा मजबुत राख्न बच्चालाई गुलियो पदार्थ खान दिनुहुँदैन। यदी बच्चाले गुलियो चिजको सेवन गरेको छ भने तुरुन्त उसको मुख तथा दाँतलाई सफा गर्न लगाउने बानी बसाल्नुपर्दछ। हरेक दिन साँझ र बिहानको खानापछि नियमित रुयमा नरम ब्रस र फ्लोराइडयूक्त दन्त मन्जनले दाँत माझ्न लगाउने बानी अभिभावकबाट बसाल्नुपर्दछ। बच्चाका अस्थायी दाँतहरुलाई झर्ने समय अगावै केही खराबी आयो भन्दैमा उखेलिदीने कार्य गर्नुहुँदैन। त्यसैगरी झर्ने समय भएको दाँतलाई हल्लिसकेपछि दन्तरोग विशेषज्ञ कहाँ गएर सुरक्षितसाथ निकाल्नुपर्दछ। किनकि समय अगावै निकाल्दा स्थायी दाँत प्रतिस्थापित हुने स्थानमा रोकावट आउन सक्दछ। त्यसैगरी ढिलोसम्म निकाल्न रहेमा छेउमा दाह्रा पलाई थप समस्या निम्तिन सक्दछ। त्यसैले बच्चा होस् वा वयस्क सबैले दाँतको सुरक्षा गर्न आवश्यक छ।
(लेखक स्वास्थ्यकर्मी हुन्।)