काठमाडौं- बाजुराको बुढिनन्दा नगरपालिका वडा न ७ का पदम बहादुर बुढाको जटिल शल्यक्रिया सम्पन्न भएको छ।
४१ वर्षका बुढा गत असोज ३ गते बाख्रा चराउन गएको समयमा एकै पटक तीनवटा जंगली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका थिए। उनका आफन्तहरुले उद्दार गरि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए।
कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा आवश्यक उपचारपछि चिकित्सकहरुले उनलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरेका थिए। बुढिनन्दा नगरपालिकाका स्वास्थ्यकर्मी राजन कुमार थापाको समन्वयमा उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा जटिल खालको शल्यक्रिया सम्पन्न भएको छ।
उनको बायाँ आँखामा पूर्ण रुपमा क्षति भएको, मस्तिष्कको बायाँ पट्टि रगत जमेको, नाक र घाँटीको भित्री भागमा रगत जमेको, निधारको बायाँ पट्टिको हड्डी भाँचिएको, ओर्बिटल क्याभिटीको हड्डी भाँचिएको, नाकको हड्डी भाँचिएर बाहिर नै निस्किएको अवस्थामा चिकित्सकहरु न्युरो सर्जन डा अन्जान सिंह कार्की, न्युरो सर्जन डा सुवोध गौतम, मेक्जिलोफेसियल सर्जन डा श्याम चौधरी, इएनटी सर्जन डा गौरव सुवेदी, इएनटी सर्जन डा कपिल शाही, नेत्र रोग विशेषज्ञ डा दिक्षा बोहोरा, एनेस्थेसिया डा कृष्ण आचार्य लगाएतको टिमले ७ घन्टा लामो शल्यक्रिया गरेका छन्।
बिरामीको लागि निशुल्क शल्यक्रिया र सामाजिक सेवा इकाइ मार्फत करिब ५० हजार बराबरको औषधिहरु निःशुल्क उपलब्ध गराइएको थियो।