विश्व हात धुने दिवस अक्टुबर १५ मा मनाइन्छ। साबुन पानीले हातधुने कुरा सुन्दा अत्यन्तै सामान्य जस्तो लागेता पनि यसको महत्व र प्रभावकारिताको बारेमा हेर्ने हो भने निकै ठुलो महत्व रहेको पाउन सकिन्छ। हामीहरु सबैलाई प्रायजसो लाग्ने रोगहरु फोहोर हातको प्रयोग र संक्रमणबाट सर्न सक्ने संम्भावना भएको हुदाँ यसबाट जोगिन पनि राम्रोसँग साबुन पानीले मिचीमिची हात धुनु अनिवार्य छ। साबुन पानीले हात मिची मिची धुँदा हामीलाई लाग्न सक्ने ८० प्रतिशत रोगहरुबाट बच्न सकिने हुनाले हात धुन साबुन पानी नै प्रयोग गर्नुपर्दछ।
ग्रामीण इलाकाको घरायसी चलन अनुसार खरानी पानी, माटो पानी र गोबर पानीले पनि हात धुने गरेको पाइन्छ। तर यस्तो खालको प्राक्टिसबाट यदि हातमा कही कतै घाउचोट भएको अबस्था रहेछ भने उक्त स्थानबाट धनुषटङकार जस्ता घातक रोगका किटाणुहरु शरीरमा प्रवेश गरी हामीलाई भयानक खालको रोगबाटसमेत ग्रसित गराउन सक्छ। तसर्थ हात धुँदा यी अन्य बस्तुको प्रयोग नगरी केबल साबुनपानी मात्र अनिवार्य प्रयोग गर्नु नै बुद्वीमानी मानीन्छ। साबुनमा रहेको चिप्लोपनाले गर्दा हातमा भएका किटाणुहरुलाई सजिलैसँग बगाएर बाहीर लैजान सक्ने र केहीमात्रमा भएपनी साबुनमा किटाणु नस्ट गर्न सक्ने क्षमताको तत्वहरुसमेत मिसिएको हुनाले पनी साबुनपानीको महत्व अपरिहार्य मानीन्छ।
हुनत स्वास्थ्यको क्षेत्रमा काम गर्ने निकायहरुले धेरै पहिला देखिनै साबुन पानीले हात धुने बारेमा अभ्यास गराउदै र वकालत गर्दै आइरहेका छन। तर पनि जनमानसको प्रत्यक्ष व्यवहारमा भने यसको अभ्यास अझैपनी कहीकतै पूर्णरुपमा हुन सकेको छैन। यसका बारेमा क्रमागत रुपमा ६ चरणमा हात धुने भनेर धेरै प्रोजेक्टहरुले अभ्यास गराउँदैं र आफ्नो डाटाबेसको कार्य पुरा गरेर कागजी कामकार्य सफल नभएका पनि होइनन्।
तर व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पारेर सकारात्मक परिवर्तन आउने कुरा चाँही निकै गाह्रो विषयबस्तु रहेछ। त्यसैले “परिवर्तन आफूबाट सुरु गर्नुपर्दछ” भने जस्तै व्यक्तिको आनीबानी परिवर्तन गर्ने कुरा त्यति सजिलो कुरा चाँही होइन।
साबुन पानीले हात नधुँदा के हुन्छ
विभिन्न खालका सरुवा तथा घातक रोगहरु ब्याक्टेरीया, भाइरस फंगस प्रोटोजोवल खालका रोगहरुले आक्रमण गर्दछन। जस्तै झाडा पखाला ,टाईफाईड, जुकापर्ने , हैजा, खानाबाट सर्ने रोग , पानीबाट सर्ने रोग, विभिन्न किसिमका छालाका सरुवा रोगहरु र कोरोना भाइरस र ओमिक्रोन भाइरसबाट लाग्न सक्ने घातक रोगहरुलेसमेत आक्रमण गर्न सक्छन्।
हात धुनुपर्ने जोखिमपूर्ण अवस्थाहरुः
१. चर्पीको प्रयोग गरीसकेपछि।
२. बालबालिका वा बिरामीको दिसा धोइसकेपछि।
३. कुनै पनि फोहोर कुरा वा बिषादी छोइसकेपछि।
४. बिरामी वा बच्चाको स्याहार गरिसकेपछि।
५. खाना बनाउनु वा तयार गर्नु अघि।
६. खाना खानु अघि।
७. बालबालिका वा बिरामीलाई खाना खुबाउनु अघि।
८. बिरामी वा बच्चाको स्याहार गर्नु अघि।
९. दैनिक घर बाहीर गएर आइसकेपछि कुनैपनि नयाँ कामको सुरुवात वा कामको अन्त्यमा साबुनपानीले मिचीमिची हात धुन नभुलौं।
साबुन पानीले हात धुँदा हुने फाइदाः
१. व्यक्तिगत तथा पारिवारिक सरसफाइ हुने
२. रोगबाट बच्न सकिने, शरीर निरोगी तन्र्दुस्त हुने
३. औषधिमा खर्च गर्न नपरेपछि आर्थिक रुपमा सबल हुने
(लेखक स्वास्थ्यकर्मी हुन्।)