दोलखा- दोलखा सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पहिलोपटक छाला प्रत्यारोपण सहितको शल्यक्रिया सम्पन्न भएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डे06 (जनरल सर्जन) डा ज्ञानेश्वर श्रेष्ठ नेतृत्वमा डा शशीरंजन तिवारी, डा रक्षा ढुंगाना, डा सृष्टी राजभण्डारी, एनेस्थेसिया सहायक कृष्णभक्त श्रेष्ठ र नर्स फेशीमाया जिरेल लगायतको टिमले सर्पले टोकेको हातको औला निकाल्ने शल्यक्रियासहित हातमा छाला प्रत्यारोपणको सफल शल्यक्रिया सम्पन्न गरेको अस्पतालका बायोमेडिकल विभाग प्रमुख उत्तम पोखरेलले जानकारी दिए।
भिमेश्वर नगरपालिका वडा न. ५ धरमघरका ३५ वर्षीय राम काजी बिश्वकर्मालाई एक हप्ता अगाडि सर्पले टोकेको थियो. हातमा बिष फैलिसकेको अवस्थामा धेरै ढिलो गरि रामकाजी अस्पताल पुगेका थिए. अस्पताल पुग्दा उनको कान्छी औला कालो रंगमा परिवर्तन भइ सुकेको थियो भने हातभरी पिप जमिसकेको थियो. अस्पतालले तत्काल सुकेको औला निकाल्ने शल्यक्रिया गरि पाखुराको छाला निकालेर गहिरो घाउ भएको हातमा छाला प्रत्यारोपण गरेको हो. हाल बिरामीको अवस्था सामान्य रहेको र डिस्चार्जको योजना गरिएको डा श्रेष्ठले बताए।
पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा जनरल सर्जरी र प्रसूतिसम्बन्धी शल्यक्रिया हुदै आएकोमा हालसालै बाट विशेषज्ञ चिकित्सक सहितको हाडजोर्नीसम्बन्धी शल्यक्रिया सेवा समेत बिस्तार भएको अस्पतालले जनाएको छ।