काठमाडौं- नेपाल एनसीडी एलायन्सले नसर्ने रोगविरुद्धको आफ्नो अभियानलाई थप गतिशील बनाउने भएको छ। सोमबार राजधानीमा भएको एलायन्सको दोस्रो बार्षिक साधारणसभालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोग विरुद्धको अभियानलाई थप गति दिने बताएका हुन्।
'नसर्ने रोगको अवस्था बढ्दो क्रममा छ। हाम्रो अस्वस्थ खानपान, वदलिदो जीवनशैली तथा बातावरणीय पक्षका कारण नसर्ने रोग झाङ्गिदै छ। यसलाई नियन्त्रण गर्नका लागि सरकार, गैरसकारी संस्था तथा नागरिक समाज, पत्रकार लगायत सबैको सामुहिक एकता आवश्यक छ। हामीले यो एलायन्समा यस्ता कार्यमा क्रियाशिल विभिन्न गैर सरकारी संस्था तथा व्यक्तिहरुलाई गोलवद्ध गरेका छौँ। अबको हाम्रो योजना नसर्ने रोग विरुद्धको अभियानलाई तिब्रता दिनु हो' डा रेग्मीले भने।
एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले रोग लाग्न नदिनका लागि, रोगबारे जनचेतना जगाउनका लागि नीतिगत तथा सचेतनाका कार्यक्रमलाई अघि बढाउनुका साथै स्क्रिनिङ, अनुसन्धान र उपचार लगातका गतिविधिलाई पनि अवका दिनमा समेटने बताए। उनले विभिन्न संस्थासंग सहकार्य गरी नसर्ने रोग विरुद्धको अभियानलाई अघि बढाउने बताए।
त्यसअघि साधारणसभामा महासचिव किशोरकुमार प्रधानांङ्गले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उत्तमा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभाले दुबै प्रतिवेदन पास गरेको छ। नेपाल एनसीडी एलायन्स नसर्ने रोग विरुद्धको अभियानमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुको अग्रसरतामा सन् २०१३ मै स्थापना भएको थियो। त्यसबेला लुज फोरम रुपमा रहेर काम गर्दै आएको एलायन्सले गत वर्ष देखि मात्रै औपचारिक संस्थाको रुपमा आफूलाई उभ्याएको हो।