काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले गरेको एउटा भाषणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
कार्कीले ललितपुरमा केही दिनअघि भएको एक कार्यक्रममा विगतका सरकारले नेपालका सबै ठूला उद्योग बिक्री गरेको आसय व्यक्त गर्दै हेटौंडा सिमेन्ट उद्योगदेखि अन्य उद्योगहरुको कुरा उठाएकी थिइन्। उनले ती उद्योगहरु खै, ५० लाख युवालाई रोजगारी दिने भनि सरकारले गरेको वाचा खै भन्दै प्रश्न गरेकी थिइन्।
‘म प्रश्न गर्न चाहन्छु, हेटौंडा सिमेन्ट कारखाना,उदयपुर सिमेन्ट खै, चोभारको सिमेन्ट कारखाना खै र भृकुटी कागज खै, ’ कार्कीले भनिन्, ‘५० लाख युवालाई रोजगारी खै र समाजवाद खै।’ उनले यी सबै उद्योगहरु पुराना दलहरुले समाप्त पारेको आरोप लगाउने आसयसहित प्रश्न गरिन् अनि रास्वपा समस्या नभई समाधान बोकेर आएको दाबी गरिन्।
प्रतिनिधि सभामा ललितपुरबाट विजयी भएकी उनले निर्वाचन क्षेत्रमा पुगेर यसरी गरेको भाषणको भीडियो भाइरल भएपछि हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट कारखानाले भने आफूहरुको सम्बन्धमा गलत टिप्पणी भएको दाबी गरेका छन्।
हेटौंडा सिमेन्ट कारखानाका कार्यकारी निर्देशक बसन्त पाण्डेले सांसदले नै नबुझेर गलत रुपमा टिप्पणी गर्दा अप्ठ्यारो भएको बताए। उद्योग अहिले चलिरहेको र बजारमा उच्च गुणस्तरको सिमेन्ट समेत उत्पादन र बिक्री गरिरहेको उनले बताए। केही प्लान्टहरुको मर्मत कार्य चलिरहेको भन्दै प्रतिदिन १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमतामा रहेको र सोही अनुसार काम भएको पनि उनले बताए।
‘सांसद हिमाल सिमेन्ट सम्झेर टिप्पणी गर्नुभएको हो कि अलि नबुझेको हो भन्ने लागेको छ,’ उनले भने।
त्यस्तै उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक खगेन्द्र बस्नेतले पनि उद्योग बन्द भएको नभई चलिरहेको बताए। उदयपुर नेपालको नम्बर एक सिमेन्टको रुपमा अहिले पनि बजारमा रहेको उनले बताए। ५ सय ५० टन क्लिन्कर र यसको ५ सय ८० मेट्रिक छन सिमेन्ट बन्ने उनले बताए। यही १२ गतेदेखि यो पूर्ण रुपमा चलिरहेको उनले जानकारी दिए।
‘आर्थिक मन्दीको प्रभाव परेको छ। आर्थिक अभाव छ। तर हामी उच्चस्तरमा सञ्चालन गरिरहेको छौं,’ उनले भने, ‘केही समयअघि प्लान्ट मर्मतका लागि बन्द गरिएको थियो। अहिले बन्द छैन।’