काठमाडौं- जाजरकोट भूकम्पका घाइतेहरुलाई थप उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले दुबै अस्पतालका एम्बुलेन्सहरुलाई त्रिभुवन विमानस्थलमा पठाइएको र वीर तथा ट्रमा सेन्टरमा इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए।
‘हामीलाई काठमाडौँ पनि घाइतेहरुलाई ल्याईदैछ तयारी हुनु भन्ने निर्देशन आयो। त्यस लगत्तै हामीले वीर र ट्रमा पदाधिकारीसहित आकस्मिक बैठक बस्यौँ र तयारी गर्यौँ। अहिले एम्बुलेन्सहरु एयरपोर्ट पुगेको छ। ट्रमा सेन्टरका इमरजेन्सी ३८ बेड भूकम्पका घाइतेका लागि तयारी अवस्थामा राखिएको छ। आईसीयू र ओटी वीर र ट्रमाका दुबै तयारी अवस्थामा छन्,’ उपकुलपति प्राडा बस्नेतले भने।
यसैबीच गएरातीको भूकम्पबाट घाइते भएकाहरुको उपचार गर्न वीर अस्पतालबाट डा खुस्बु झाको नेतृत्वमा गएको चिकित्सक टोलीले जाजरकोट अस्पताल पुगेर काम सुरु गरेको छ।