काठमाडौं- भूकम्पबाट घाइते भएका रुकुम पश्चिमका ७ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये दुई घाइतेको अवस्था गम्भीर छ।
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई शिक्षण अस्पताल ल्याइएको थियो। अस्पतालका आकस्मिक कक्षका चिकित्सक विशालराज भण्डारीका अनुसार दुई जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
उनका अनुसार अस्पताल सुरुमा सबै ७ जनालाई रेड जोनमा राखेर उपचार गरिएको थियो। थप उपचारपछि अहिले भने तीन जनालाई मात्र रेड जोनमा राखेर उपचार भइरहेको छ।
रुकुम पश्चिमबाट उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएका घाइतेहरुमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका(१ की १२ वर्षकी निरुता पुन, २० वर्षकी सुशीला बुढा, २१ महिनाका ऋषव बुढाथोकी, सानीभेरी गाउँपालिका(४ की २० वर्षकी विमला ओली बुढाथोकी, २२ वर्षका गोपाल बुढाथोकी, ६२ वर्षकी सावित्री चन्द, ५५ वर्षकी मैना ओली र मुसीकोट नगरपालिका(७ की २१ दिनकी बालिका सीता पाण्डे रहेका छन्।