काठमाडौं–जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भए। उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए।
उद्धारपछि कार्कीले भने, “भाग्यले बाँचे।” दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गर्ल्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए।
घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भने, “एक्कासि भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो। रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ। आधा घण्टापछि भतिज मन्दीप कार्की आयो। राति साढे १ बजे अस्पताल पुगेँ।”
काका एक्कासि चिच्याएको आवाज सुनेर आफू दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए। उनले भने, “म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो।”
मन्दीपले काकालाई आज बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्याएका हुन्। घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आएको अस्पतालले जनाएको छ। अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ। २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते उनले बताए।
विमलकुमारको घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताए। आज राति घरमा उनी एक्लै थिए। उनकी श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेन होला विमलकुमारले भने।
भगवान्ले हाम्रो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताइन्। उनले घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमान्लाई खोज्दै जाजरकोट अस्पताल पुगेको बताइन्। उनले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाइन्। उनी बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको बताइन्।
चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गरिन्। जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ।
हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताए। उनका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ। अस्पतालका मेसु डा रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताए।
भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। उनका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ। रासस