काठमाडौं- राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकले जाजरकोट–भूकम्पबाट घाइतेहरुको उद्धार, शीघ्र र निःशुल्क उपचारका साथै राहत र पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण शक्ति परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा आज भएको बैठकले राज्यको सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी रुपमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्न नेपाल सरकारलाई निर्देशन दिइएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए।
समितिले भूकम्पको क्षति उपर राहत एवं पुनःस्थापना गर्ने कार्यमा सम्पूर्ण स्वदेशी तथा विदेशी दातृ निकाय, राज्यका सबै तह, निकाय, सङ्घसंस्था एवं सम्पूर्ण नागरिकलाई सहयोगका लागि एकजुट हुन सबैमा आग्रह गरेको छ।