काठमाडौं– काठमाडौं महानगरपालिकाले सुत्केरी महिलाका लागि १० हजार रुपैयाँ दिने भएको छ। ‘साथी महानगर’ स्वर्णिम योजना अन्तर्गत महानगरबासी सुत्केरी महिलालाई पोषिलो खानेकुराको अभाव हुन नदिन ७ हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गर्ने मेयर बालेन शाहले जानकारी दिए।
शारीरिक तथा मानसिक रूपमा अस्वस्थ, अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेका तथा परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गरिने उनले बताए।
यस्तै कुनै सदस्यको नियमित रोजगारी नभएका तथा परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको परिवारमा रहेकी ४२ दिन भित्रको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराउने भएको छ। महानगरको उक्त सहयोग लिनका लागि सम्बन्धित व्यक्तिले ९८४१९८५४९० यो नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।