धनकुटा- धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ। धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने समीक्षा कार्यक्रम गरेको हो।
कार्यक्रममा धनकुटा नगर क्षेत्रमा डेंगु, स्क्रवटाइफस, मलेरिया, कालाजार जस्ता कीटजन्य रोगको प्रभाव सम्बन्धी छलफल गरिएको छ।
लामखुट्टे, किर्ना, भुसुना लगायतको टोकाइबाट सर्ने यस्ता कीटजन्य रोगको नियन्त्रणका लागि गरिएका प्रयास र उपलब्धीको समीक्षा पनि गरिएको छ।
धनकुटा नगरमा केही महिना अघि १९० जना भन्दा बढीमा डेंगु रोगको संक्रमण र १३ जनामा सक्रवटाइफसको संक्रमण देखिएको थियो। अहिले उनीहरु सबै निको भइसकेकाले नगर क्षेत्रमा कीटजन्य रोग रोकथामको प्रयास प्रभावकारी देखिएको धनकुटा नगरपालिकाका स्वास्थ्य उपशाखा प्रमुख भोजराज भण्डारी बताउँछन्।
धनकुटा नगर क्षेत्रमा २७ जना स्वास्थ्यकर्मी र ४५ जना महिला स्वास्थ्य स्वयंसेवक कार्यरत छन्। उनीहरूलाई पूर्ण खोप सुनिश्चितताको दिगोपनका लागि सक्रियतापूर्वक भूमिका निर्वाह गर्न पनि कार्यक्रममा आग्रह गरिएको छ।