बढ्दो सहरीकरणसँगै आजभोलि कुकुर पाल्ने रहर पनि बढिरहेको छ। यसरी रहरले पालिरहेका कुकुरको दिसापिसाब सहि तरिकाले व्यवस्थापन नहुँदा समाजमा विभिन्न समस्याहरु पनि उत्पन्न भइरहेको छन्। हरेक सजिव प्राणीको लागी खानु, बस्नु, दिसापिसाब गर्नु एक प्राकृतिक प्रक्रिया हो। कुकुरको लागि हेरविचार गर्नु, उपयुक्त आहारको जोहो गर्नु , आवश्यक खोपको व्यवस्था गर्नु,उनीहरुको स्वास्थ्यको ख्याल राख्नु तथा आश्रय दिनु कुकुर मालिकको कर्तव्य हुन्छ। सामुदायिक कुकुरहरुको खाने, बस्ने दिसापिसाब गर्ने बासस्थान सडकपेटि तथा सार्वजनिक स्थान हो। त्यसै गरी घरपालुवा कुकुरलाई पनि सडकपेटि, सार्वजनिक स्थानमा नै जथाभावी दिसापिसाब गराउने बानिले मानव स्वास्थ्य तथा जैविक वातावरणमा प्रतिकुल असर परिरहेको छ। तसर्थ घरपालुवा तथा सामुदायिक कुकुरहरुको पनि मलमूत्र सही तवरबाट विस्थापन गर्न जरुरी छ। यो आलेखमा कुकुरको दिशापिसाब बाट मानव जीवन तथा वातावरणमा पर्ने असर र त्यसको व्यवस्थापनमा पालक तथा सरोकारवाला निकायको जिम्मेवारीबारे चर्चा गरिनेछ।
हेलेन ब्रिग्सले १९ अक्टोबर २०१८ मा बीबीसीमा संम्प्रेसण गरेको लेख अनुसार निकै पहिलेका उपलब्ध डिएनए परिक्षणले कुकुर मानिसको साथमा रहेको नौ हजार वर्ष पुगेको देखाएको छ। मानव सभ्यताले कृषियुगमा प्रवेश गर्नुअघि घुमन्ते अवस्थादेखि नै कुकुर पालन गर्न थालेको बुझिन्छ। जुन समय शिकार बिनाको जीवन असम्भव प्राय थियो। कुकुरमा असाधारण सुँघ्ने क्षमता तथा सिकार गर्न सिपालु हुने हुँदा कुकुरले त्यसबेला देखि नै मानिसलाई सिकार गर्न सघाउने, शिकारको बेला घाइते जनावरहरु भागेको ठाउँ पत्ता लगाउन, हिंस्रक जनावरबारे जानकारी लिन र उनीहरुबाट बच्नका लागी प्रयोग गर्ने गरेको पाईन्छ। कुकुरलाई संसारकै अत्यन्तै वफादार जनावर मध्येको एक मानिन्छ। परिवर्तित जीवनशैलिमा कतिले घरमा घरपालुवा जनावरको रुपमा विशेष गरी कुकुर पालेका हुन्छन्, घरको सदस्यलाई जस्तै स्याहार सुसार गर्छन्। मानिसले आफ्नो सौख अनुसार साना ठुलादेखि विभिन्न प्रजातीका कुकुर पाल्ने गर्छन्। कतिले रहरले त कतिले आफ्नो एक्लोपन हटाउने साथीको आवश्यकता पूरा गर्न त कतिले घर सम्पतिको सुरक्षाको लागि कुकुर पाल्ने गर्छन्। प्रहरीले समेत कुकुर पाल्ने, तालिम दिने अनि विभिन्न अपराधमा अनुसन्धान गर्न परिचालन गर्ने गरेका छन्। हिन्दु धर्ममा पनि कुकुरलाई विशेष स्थान दिइएको पाइन्छ। यम पंञ्चकको दोस्रो दिन कुकुर तिहार मनाउने प्रचलन छ। यो दिन हिन्दु धर्मालम्बीहरुले आफ्ना वरीपरी भएका कुकुरको पूजा गर्ने तथा मिठो खुवाउने गर्दछन्।
कुकुरलाई दिनमा कम्तिमा पनि एक पटक मलमुत्र विर्सजन गराउनुपर्ने हुन्छ। मलमुत्र विर्सजनका लागि आफूलाई पायक पर्ने नजिकको चोक, सडकपेटी, सार्वजनिक खालि ठाँउहरुमा गराउने चलन व्याप्त छ। रहरले लाखौ रुपैया तिरेर महंगा कुकुर पाल्ने र खुल्ला रुपमा यसरी कुकुरको मलमुत्र विर्सजन गराइरहँदा वातावरणमा नकारात्मक असर पर्ने, दुर्गन्ध फैलिने, फोहोर हुने तथा असोभनिय देखिने गरेको छ। जैविक रुपमा मात्र नभई सामाजिक रुपमा पनि आपसमा विवाद तथा झैझगडा हुने गरेको छ। मलमुत्र विर्सजनका लागि कुकुरलाई जथाभावी छोड्दा पानीको मुहान वरिपरी पनि दिसा पिसाब गरिदिन सक्ने हुदा उक्त दुषित पानी पिउने समुदाय नै बिरामी पर्नसक्छ त्यस्तै सार्वजनिक स्थानहरुमा बच्चाहरु खेल्ने हुदा उनीहरुमा रोग सर्ने सम्भावना उच्च हुन्छ। खुला ठाउँको दिसा विभिन्न माध्ययम बाट हाम्रो मुख सम्म पुग्न सक्छ। कुकुरको दिसामा संक्रामक परजिविको अण्डा केहि दिन देखि केहि वर्ष सम्म संक्रामक भइरहन सक्छ।
विभिन्न अध्ययनहरुले कुकुर पाल्दा कुकुर मालिक शारीरिकरुपमा सक्रिय हुने हुदा मुटुको स्वास्थ्य राम्रो हुने, कोलेस्ट्रोलको मात्रा घट्ने, मानसिक तनाव कम हुने देखिएको छ भने अर्को तर्फ कुकुर बाट प्रतिरोधात्मक शक्ति कम रहेका व्यक्ति तथा बच्चाहरुमा धेरै किसिमका ब्याक्टेरियल,भाईरल तथा परिजिवी जन्य रोगहरु मानिसमा सरि महिनौ सम्म अस्पतालमा भर्ना भएर बस्नु पर्ने तथा मृत्यु समेत हुने गरेको छ। कुकुरबाट मानिसमा सर्ने धेरै किसिमका रोगहरु रहेपनि सामान्यतया परिजिवी मध्येमा फित्ते जुका, अंकुशे जुका, गोलो जुका हुन् भने व्याक्टेरियामा साल्मोनेला, पस्तेउरेला, ब्रुसेल्ला, कम्पाईलोब्यटर, लेप्टोस्पाईरा, स्टाफाईलोकोकास छन् त्यस्तै भाइरल रोगमा रेविज तथा नरोभाइरस रहेका छन्। कुकुर बाट मानिसमा संक्रमण सरेमा ज्वरो आउने, वाकवाक लाग्ने, वान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने, खान मन नलाग्ने, थकान महसुस हुने जस्ता लक्षणहरु देखा पर्न सक्दछन्।
एक अध्ययन अनुसार बच्चाहरुमा कुकुरको मल मुत्रमा हुने टोक्जोकोरा (गोलोजुका) को संक्रमण बढि पाइएको छ। उक्त अध्ययनका अनुसार अमेरिकामा ४ देखि ८ प्रतिशत बच्चाहरुमा बिना लक्षणको टोक्जोकोराको संक्रमण देखिएको छ। त्यसैगरी नेदरल्याण्डमा १९ प्रतिशत, जर्मनीमा २.५ प्रतिशत र स्पेनमा शून्यदेखि ३७ प्रतिशत सम्म देखिएको छ भने संक्रमण हुनेमा १० वर्ष मुनिका बालबालिकाहरु छन्। संक्रमणको कारण कुकुरसंगको प्रत्यक्ष सम्पर्क पाइएको छ। नेपालमा बाच्चामा अध्ययन नभएको भए पनि १४ वर्ष माथि उमेरका मानिसमा गरिएको टोक्जोकोरा (गोलोजुका) को एन्टीवडी जाँचमा ८१ प्रतिशतमा एन्टीवडी देखीएकोले यसको सक्रिय संक्रमण नेपालमा पनि धेरै नै रहेको सहजै अनुमान गर्न सकिन्छ।
घरपालुवा तथा सामुदायिक कुकुरबाट हुने समस्यामा मलमुत्र सगैं अहिले कुकुरले दैनिक सयौं मान्छेलाई टोक्ने र यसरी कुकुरले टोकेर यस विरुद्धको खोप लगाउन हजारौं रुपैयाँ खर्च हुने र खोप नलागाउदा रेबिज रोगको कारण ज्यान समेत जाने गरेको छ। कतिपय मानिसलाई अझैपनि कुकुरले टोकेपछि खोप लगाउनु पर्छ भन्ने कुराको जानकारी नहुँदा, आर्थिक अभावको कारण स्वास्थ्य संस्था जान नसक्दा, बहुला तथा बिरामी कुकुर हो वा होईन भनेर चिन्न नसक्दा, घाउ सानो छ भनेर ध्यान नदिदा, सानो कुकुर ले टोक्दा रोग सर्दैन भन्ने भ्रम हुँदा, घरपालुवा कुकुरले टोक्दा रोग सर्दैन भन्ने भ्रम हुदा रेबिज रोगको सिकार हुन बाध्य छन्। जुनसुकै कुकुरले टोकेको भएपनि टोक्ने बितिक्कै जति सक्दो छिटो धाराको पानिमा १५ मिनेट सम्म साबुन पानिले पखाल्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह अनुसार रेबिज विरुद्धको भ्याक्सिन लगाउनु पर्दछ। रोग लागि सके पछि रेबिज रोगको उपचार सम्भब नभएकोले कुकुरले टोके पछि भ्याक्सिनको विकल्प नभएको कुरामा सर्वसाधारण सचेत हुन जरुरि छ। स्वास्थ्य सेवा विभागको ०७८/०७९को वार्षिक प्रतिवेदन अनुसार, नेपालमा वार्षिक १०० जना भन्दा बढी मान्छेको रेबिज रोगको कारण मृत्यु हुने गरेको छ भने ७५ हजार घरपालुवा जनावरमा रेबिज रोगको सक्रमण हुने गरेको देखाएको छ। रेबिज रोग लागेका मध्य ९९% कुकुरको टोकाई बाट हुने गरेको छ। त्यसैगरी विश्व स्वास्थ्य संगठनले, सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिज रोगको कारण मृत्यु हुनेको संख्या शून्य पुर्याउने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्नका लागि प्रत्येक देशले उपेक्षित ट्रपिकल रोगलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा समावेश गरी महत्वका साथ व्यबस्थापन गर्नु पर्ने देखिन्छ। समुदाय संगको सहकार्य र सहभागितामा रेबिज विरूद्ध को खोपको पर्याप्त सुनिश्चितता गरी रेबिज रोग उन्मुलन गर्न सकिन्छ।
घरपालुवा तथा सामुदाइक ककुरबाट हुने प्रदुषणलाई व्यक्तिगत तथा सामुदायिकरुपमा समाधान गर्न अग्रसर हुन जरुरी देखिन्छ।
व्यक्तिगत रुपमा भन्नुपर्दा, घर भित्र वा अन्य सुरक्षित स्थानमा लगेर दिसापिसाब गराउने। कुकुर लाई पनि शौचालय प्रयोग गर्न सिकाउन सकिन्छ। शौच गरी सके पछि पानी हाल्ने र सफा गर्ने गराउन सकिन्छ। साथै आफ्नो घर वरपर एउटा खाडल खनेर कुकुरलाई शौच गराउन सकिन्छ। खाडल भरिएपछि पुर्ने गर्दा कम्पोष्ट मल पनि हुने र पर्यावरण पनि बिग्रन पाउँदैन। यसले वातावरणमा हुने फोहोर प्रदुषण र जैविक विविधता ह्रास हुनबाट जोगाउँछ। त्यस्तै कुकुरसंग चलिसकेपछि र खाना खानु भन्दा अगाडि साबुन पानिले हात धुने गर्नुपर्छ। कुकुरलाई खाना दिनको लागि छुट्टै भाडाँको व्यवस्था गर्नुपर्छ।
सामुहिक रुपमा स्थानिय जनस्तरबाट वस्ती र पानीको मुहानबाट टाढा खाली क्षेत्रलाई दिसापिसाब प्रयोग गर्न सकिन्छ। उक्त स्थानलाई टाढैबाट देखिने गरी संकेत प्रयोग गरेर राख्न सकिन्छ। जसले गर्दा एक दुई दिन दिसापिसाब गराउन लगे पछि घर पालुवा जनावर वा सामुदायिक कुकुर आफैले पनि चिनोस् कि मेरो शौच गर्ने क्षेत्र यहाँ हो भनेर। यसको लागि स्थानिय तहले नै आफ्नो क्षेत्र भित्र घरपालुवा कुकुरको अभिलेखिकरण गर्नु पर्छ। उक्त तथ्याङ्क अनुसार प्रति कुकुर वा प्रति घर दैनिक÷मासिक रुपमा यकिन गरेर केहि शुल्क उठाउने र उक्त रकमबाट सार्वजनिक जग्गा वा अन्य उपयुक्त क्षेत्र छुट्टाएर मल मुत्र विर्सजन गर्ने व्यवस्था गर्न सकिन्छ। साथै एकै ठाउँमा मात्र दिशा पिसाब गराउदा दिशा पिसाबमा हुने जीवाणुको नियन्त्रणको लागि नियमित रुपमा किटनाशकको प्रयोग गर्न सकिन्छ।
त्यसै गरी कुकुरको मलमुत्र विर्सजन कसरी गर्ने भन्ने बारेमा स्थानिय निकायसंग समन्वय गरी तालिम÷गोष्ठि संचालन गर्न सकिन्छ। प्रत्येक कुकुरलाई पशु चिकत्सकको सल्लाह अनुसार नियमितरुपमा रेबिज विरुद्दको खोप अनिवार्य लगाउनु पर्दछ। त्यसै गरी सामुदायिक कुकुरहरुको नियन्त्रणका लागी नियमित रुपमा स्थायी वन्ध्याकरणका कार्यक्रमहरु संचालन गर्ने, घरपालुवा कुकुरहरुको अभिलेखीकरण गरेर छाडा छोड्न नदिने तथा सामुदायिक कुकुरहरुको लागि आश्रमको व्यबस्था गर्नु पर्ने देखिन्छ। सामुदायिक कुकुरहरु लाई स्थानीय तहले नियमित रुपमा अनिवार्य रेविज विरुद्धको खोप दिनु पर्दछ।
वि.सं २०७६ असोज १३ गतेका दिन नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए पनि सडकपेटी तथा सार्वजनिक स्थानहरुमा देखिने कुकुरको दिसाले एकातर्फ खुला दिसामुक्त देश को छविलाइ अन्तराष्ट्रिय स्तरमा धुमिल पारिदिएको छ भने अर्को तर्फ स्वास्थ्य जस्तो संवेदनशील कुरालाई लिएर समयमा नै सर्तकता अपनाउन नसक्दा जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ।
(जनस्वास्थ्य निरीक्षक किवानायो सुर्यविनायक नगर अस्पतालको इमर्जेन्सी इन्चार्ज हुन्)