काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी हेरफर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रयोगशालाको निर्देशकमा डा राजनराज भट्टलाई जिम्मेवारी दिएको छन्।
मन्त्री बस्नेतले प्रयोगशालाकी निर्देशक रहेकी रुना झाको जिम्मेवारी हेरफेर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै कार्यरत ११औं तहका डा भट्टलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। डा झा पनि ११ औं तहकी अधिकृत हुन्। उनलाई प्रयोगशालामा नै राखेर निर्देशकको पद हेरफेर गरिएको हो।
यसैगरी कान्ति बाल अस्पतालमा कार्यरत ११औं तहकी नर्स रोशनी लक्ष्मी तुईतुईको पनि सरुवा भएको छ। उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरिएको छ।
मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत अधिकृत दशौं तहका उपेन्द्र ढुंगानालाई स्वास्थ्य मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइमा ल्याएका छन्। ढुंगानालाई जाजरकोट केन्द्रित भूकम्पबाट सिर्जित विपद व्यवस्थापनमा सहजीकरण गर्ने गरी इकाइमा ल्याइएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ।
यस्तै, मंगलबार नै भरतपुर अस्पतालका प्रमुख मेसुको जिम्मेवारी पनि हेरफेर भएको छ। अस्पतालको प्रमुख मेसुमा डा श्रीराम तिवारी सरुवा भएर गएका छन् भने अस्पतालका निमित्त मेसु रहेका डा कृष्ण पौडेलको जिम्मेवारी खोसिएको छ।