पाटनका चिकित्सकलाई प्रहरीको अपिल – अनुसन्धान भइरहेको छ, सेवा बन्द नगर्नुस्
काठमाडौं- प्रहरीले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न अपिल गरेको छ।
मंगलबार साँझ जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य विवरण संकलन गरी थप अनुसन्धानको काम भइरहेको जनाएका छन्।
उक्त घटनाबारे सोमबार पाटन अस्पतालले पत्राचार गरेपछि प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको एसपी कार्कीले जानकारी दिएका छन्। प्रमाण संकलनको कार्य भइरहेकोमा अस्पतालको सेवा बन्द गरी धर्ना दिई सेवा प्रवाहमा अवरोध उत्पन्न भएकाले अतिआवश्यकीय स्वास्थ्य सेवामा प्रभावित भइ जटिल परिस्थिति देखा पर्ने उनले बताए।
‘यस परिसरबाट कानुन बमोजिम अनुसन्धान भइरहेको विषयमा अनुसन्धानमा सहयोग गर्दै जिम्मेवारीका साथ अत्यावश्यक सेवा सुचारू गर्न अस्पताल प्रशासन, चिकित्सकहरू र सम्बन्धित सरोकारवाला सबैमा जिल्ला प्रहरी परिसर ललितपुर हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।
शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा उपचाररत ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय जनमाया राईको सुई दिएको पाँच मिनेटमा मृत्यु भएको थियो।
मृतकका आफन्तले उपचारमा लापरवाही भएको भन्दै चिकित्सकमाथि हातपात गरेका थिए। त्यसपछि चिकित्सकले सुरक्षा प्रत्याभूति नभएको भन्दै प्रचलित कानून बमोजिम आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग राखेका छन्। मंगलबारदेखि चिकित्सकले अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प पारेका छन्।