धनगढी- बृहत यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा समाजिक रुपमै खुलेर बहस हुनुपर्ने सरोकारवालाहरुले बताएका छन्।
‘राइट हियर, राइट नाउ’ भन्ने नारासहित यार्ड नेपालको आयोजनामा भएको बहस तथा पैरवी कार्यक्रममा सहभागिहरुले समाज र संस्कारका कारण बृहत यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्य अधिकारका कुरामा खुलेर बहस नहुने गरेको बताएका हुन्।
‘बृहत यौनिक विषय धेरै गम्भिर र संवेदनशिल हो’ धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले भनिन् –‘यस विषयमा आफू र आफनो घरबाटै सुधार गरेर लग्नुपर्छ। यी विषयमा कुराकानी गर्न खोज्दा अझै पनि लाज मान्ने चलन रहेको छ।’
उनले बृहत यौनिक शिक्षालाई सचेतनामुलक तथा सहभागितामुलक ढंगले अघि बढाउनुपर्ने बताइन्। उनले भनिन–‘स्थानीय तहले आवश्यक बजेट, कार्यक्रमसंगै विद्यालयमा छलफल कार्यक्रम अघि बढाउन तयार रहेको छ।’ उनले सबैको समन्वयमा कार्य गर्दा प्रभावकारी हुने बताइन्।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले समाजलाई स्वस्थ राख्न यौनिक शिक्षा आवश्यक रहेको बताइन्। उनले भनिन–‘किशोरकिशोरी नै भोलिका भविष्य हुन्। कुलततर्फ जान नदिन र उनीहरुलाई स्वस्थ राख्न आवश्यक कार्यक्रम अघि बढाउन तयार छौं।’ उनले गोदावरी नगरपालिकाले बृहत यौनिक शिक्षालाई अहिले आफनो पाठ्यक्रममा समावेश गरेको बताउँदै–‘सचेतनामुलक कार्यक्रम गर्न पनि हामी तयार छौं। विद्यालयमा यस विषयमा खुलेर पढाइ हुने वातावरण सृजना गर्ने छौं।’ उनले किशोरकिशोरीलाई लागुऔषध दुव्र्यशनीमा फस्न नदिन, बालविवाह न्यूनिकरण लगायतमा महत्वपूर्ण योग्दान यसले पुर्याउने बताइन्।
कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपदी रानाले हरेक विद्यालयमा नगरपालिकाले सचेतनामुलक कार्यक्रम गर्दै आएको बताइन्। उनले भनिन–‘नगरपालिकाले वडातहदेखि नै प्रजनन स्वास्थ्यदेखि बालमैत्री नगरको अवधारणा अनुसार काम गरिरहेको छ।’ उनले आगामी दिनमा पनि समन्वय, सहकार्य गर्दै बृहत यौनिक शिक्षालाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढ्ने बताइन्।
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले समाजिक रहन सहन र संस्कारका कारण अझै पनि यौन तथा प्रजनन अधिकारबारे खुलेर बोल्न डराउने गरेको बताए।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेष्ठले राज्यको धेरै स्रोत सुरक्षि मातृत्वमा लगानी भइसक्दा समेत प्रभावकारी हुन नसकिरहेको बताए। उनले हरेक स्वास्थ्य संस्थामा किशोरकिशोरीमैत्री कक्ष स्थापना गरि कार्यक्रम अघि बढाउन सुझाव दिए। उनले अझै पनि २० वर्ष मुनिका किशोरीहरु गर्भ हुने क्रममा कमी आउन नसकेको बताए।
यार्ड नेपालका महेन्द्र शाहीले बृहत यौनिक शिक्षा भन्ने वित्तिकै यौनसंगमात्र सम्बन्धित रहने महसुस गर्दा यसका अवधारणाहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताए। बहृत यौनिक शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन यार्ड नेपालले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कार्यक्रम गरिरहेको बताए।
सेति प्रादेशिक अस्पतालका सामाजिक इकाइ शाखाका प्रमुख गौरिदत्त जोशीले बृहत यौनिक शिक्षा तथा प्रजननको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए। कार्यक्रममा तीन वटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य महाशाखा प्रमुख, सामाजिक विकास शाखा, योजना शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।