'मेरो पहिलो बच्चा जन्मिँदा कम तौलको थियो। मैले गर्भावस्थामा पर्याप्त पोषण नपाएको कारणले बच्चा कम तौलको जन्मिएको हो भन्ने थाहा पाउँदा म एकदमै चिन्तित भएँ। यो तीतो अनुभवले मलाई आफु र आफ्नो परिवारको लागि केही गर्नुपर्छ भनेर झक्झकायो। त्यसपछि मैले परिवार, समुदाय र अहिले समग्र गाउँपालिकामा नै परिवर्तन ल्याउनका लागि प्रयासरत छु।’
यो भनाई नवलपरासी (पश्चिम) को सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीको हो।
गीताको यहाँसम्मको यात्रा असाधारण रहेको छ। सिमान्तकृत थारु समुदायमा बालविवाह सामान्य थियो।
गीता चौधरी पनि आफ्ना साथीहरुजस्तै सानैमा बिहे गर्न बाध्य भएकी थिइन्। जसको कारण उनको पढाइ पनि छुट्न गयो।
परम्परागत मान्यता र परिवारको कमजोर आर्थिक स्थितिका कारण आफ्नो गर्भावस्थाका बेला गीताले पोषिलो खाना खान पाइनन्। यसले उनको गर्भको बच्चाको स्वास्थ्यमा पनि नकारात्मक असर पार्न गयो। फलस्वरुप उनले कम तौलको बच्चा जन्माउन पुगिन्।
बच्चा कम तौलको जन्मनुमा कतै आफ्नो दोष त थिएन भन्ने पिरलोले उनलाई आफ्नो समुदायका मान्यताबारे सोच्न बाध्य बनायो। उनले यसबारे थप जानकारी लिने र भविष्यमा यस्तो अरुलाई हुन नदिन सहयोग गर्नेबारे सोच्न थालिन्। यसैबेला उनी दश वर्ष अगाडि युएसएआइडीको सुआहारा कार्यक्रमसित जोडिन पुगिन्।
यो अवधिमा आफ्नो समुदायले आफुले जस्तै कम बच्चा जन्माउनु परेको पीडाबोधबाट गुज्रिन नपरोस् भनेर उनले समुदायमा सचेतना फैलाउने काम गरिन्। उनले कैयौं घरहरुमा पुगेर थुप्रैपटक परिवारहरुलाई परामर्श दिइन्। समुदायमा महिला तथा बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारबारे सचेतना फैलाउने थुप्रै अभियानहरुमा सहभागी बनेर।
यद्यपि उनले छिट्टै अनुभव गरिन् कि समाजमा सदियौंदेखि चलिरहेका र हाम्रो मस्तिष्कमा गडेर रहेका मान्यतालाई सचेतना फैलाएर मात्रै परिवर्तन गर्न सकिन्न। नत गरिब परिवारमा पोषिलो खानाको पहुँच बढ्न सक्छ। उनको यो अनुभुतिलाई कोभिड – १९ को महामारीले झन् पुष्टि गरिदियो।
खाना र खोपका लागि मानिसहरुले गरेको संघर्ष देखेर यसबारेमा केही गर्ने अभिलाषा उनमा जागृत भयो। त्यसपछि गीताले गत स्थानीय चुनावमा आफ्नो सुस्ता गाउँपालिकाको उपाध्यक्षमा लड्ने निधो गरिन्। समाजमा पहिल्यै रहेको आफ्नो पहिचान र कामबाट उनी गाउँपालिकाको उपाध्यक्ष पदमा बिजयी पनि बनिन्।
गीता भन्छिन्, 'मैले सुआहारामा काम गर्ने क्रममा थुप्रै बस्तीहरुमा पुगें। सिमान्तकृत समुदायमा आमा र बच्चाहरुले कठीन अवस्था सामना गर्नु परेको देखें। यसले मलाई आफुले पनि केही गर्नुपर्छ भन्ने लाग्यो। र, आज म जे छु, यसमा सुआहारा कार्यक्रमको ठुलो देन रहेको छ।’
स्वास्थ्य र पोषणमा एक दशकको अनुभवले गर्दा गीता अहिले पनि पोषिलो खाना प्रदर्शनी वा गर्भधारण वा सुत्केरी भएपछि मनाइने उत्सवहरुको योजना निर्माण र कार्यान्वयनमा सक्रिय रुपमा सहभागी हुन्छिन्। साथमा उनले सुआहारा कार्यक्रमले तालिम दिएका ५ जना लैङ्गिक समानता अगुवाहरुलाई गाउँपालिकाले परिचालन गर्न बजेट छुट्याउने काममा नेतृत्व गरेकी छन्। यी ५ जना अगुवाहरुले अहिले सामाजिक कार्यकर्ताको रुपमा गाउँपालिकामा स्वास्थ्य तथा पोषणसम्बन्धी सकारात्मक लैङ्गिक मान्यता र अभ्यासहरु प्रवद्र्धन गर्ने काम गरिरहेका छन्।
गीताको आकाँक्षा भने स्थानीय तहभन्दा पर पनि छ। उनले प्रादेशिक र संघीय तहमै सचेतना र प्रभाव पार्ने लक्ष्य राखेकी छन्। गीता भन्छिन्, 'शिक्षा, स्वास्थ्य र पोषण हाम्रो समुदायको विकासका लागि अत्यन्तै महत्वपुर्ण एजेण्डा हो भन्नेमा मलाई विश्वास छ। दुर्भाग्यवश सामाजिक विकासका यी एजेण्डालाई स्थानीय तहमा पुर्वाधार विकासको प्राथमिकताले पछाडि पारेको छ। हाम्रो गाउँपालिकामा सामाजिक विकासलाई प्रमुख एजेण्डा बनाउनमा मेरो जोड निरन्तर रहेको छ।'
प्रफुल्ल तर प्रतिवद्ध गीताले थपिन्, 'हाम्रो सुस्ता गाउँपालिकाले अहिले शिक्षा, स्वास्थ्य तथा पोषणजस्ता सामाजिक विकासका एजेण्डालाई प्राथमिकतामा राखेर बजेट छुट्याएको छ। यसलाई अझै बढाउन र प्रभावकारी कार्यान्वयन गर्न म निरन्तर लागिरहनेछु।'