काठमाडौं- इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमको सहकार्यमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।
‘आईटीएम कोलोक्युम काठमाडौं’ नाम दिइएको यो सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको हो। सम्मेलनमा जलवायु परिवर्तन र यसले पारेको असरका बारेमा खोज तथा अनुसन्धान गरिरहेका विभिन्न देशका १५० बढी वैज्ञानिकसहित ३०० जनाको सहभागिता छ।
सम्मेलनको नारा ‘अण्डरस्टयाण्डिङ द ग्लोबल ल्याण्डस्केप अफ डिजिज बर्डन इन द कन्टेक्ट अफ क्लाइमेट चेन्ज’ रहेको छ।
सम्मेलनले जलवायु परिवर्तनको विश्वव्यापी परिदृश्यमा पर्ने रोगको बोझको सन्दर्भमा ज्ञान, विशेषज्ञता र वैज्ञानिक अनुसन्धान तथा दृष्टिकोणमाथि छलफल गरी निष्कर्ष निकाल्ने छ।
सम्मेलनको मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए। सो अवसरमा बोल्दै उनले जलवायु परिवर्तनले स्वास्थ्य तथा वातावरणको क्षेत्रमा गम्भीर संकट उत्पन्न गर्दै गईरहेको भन्दै यसमा सबै पक्ष चनाखो हुनुपर्ने बताए।
कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले जलवायू परिवर्तनले निम्त्यारहेको असरको बारेमा उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार संवेदनशील ढंगले लागि रहेको बताए।
इन्टिच्युट अफ ट्रपिकल मेडिसिनकी निर्देशक प्राडा लुत लिनेनले जलवायु परिवर्नतले अप्रत्यक्ष रुपमा धेरै स्वास्थ्य समस्याहरु निम्तिएको बताइन्।
नेपाल स्वास्थ्य अनुुसन्धान परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिन थालेको भन्दै अग्ला हिमाल नांगिदै गएको, किटजन्य रोगहरु उच्च पहाडी तथा हिमाली क्षेत्रमा देखा पर्नु यसको असर भएको बताए।
परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले जलवायु परिवर्तनले निम्तिएको असरका सन्दर्भमा नेपालले नेतृत्वदायी भूमिका खेलेर विश्व मञ्चमा आवाज उठाउनुपर्ने बताए।
कार्यक्रममा आईटीएमका प्राडा रुथ मुलर तथा डा जो बरी लगायतले आफनो धारणा राखेका थिए। यस्तै परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभाव तथा प्रतिक्रियाकाबारेमा प्रस्तुति दिएका थिए।