तनहुँ- लायन्स क्लब नेपाल इन्टरनेसनल ३२५ एलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलाइसिस सेन्टर स्थापना गर्ने भएको छ।
जिल्लामा दमौली अस्पतालमा मात्रै डायलाइसिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लवले अस्पतालमा डायलाइसिस सेन्टर स्थापनाको प्रक्रिया अगाडी बढाएको हो। लायन्सका गभर्नर परमेश्वर बराल, चिफ अफ एओजी अमृत बराल, कोचिफ एडभाइजर बाबुराम अधिकारीलगायतको बैठकले केन्द्रमा डायलाइसिस सेन्टर स्थापनाका लागि छलफल गरेको जनाइएको छ।
मिर्गौला पीडित बिरामीको लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको क्लवका डिष्ट्रिक क्याबिनेट सेक्रेटरी सुजित हिराचनले जानकारी दिए। उनले भने, “यो भेगमा डायलाइसिस सेवा अति आवश्यक भइसकेको छ। यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ। यही डायलाइसिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ।”
हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलाइसिस सेन्टर छ। यहाँ ११ वटा उपकरणमार्फत बिरामीले सेवा लिँदै आएका छन्। केन्द्रमा हाल डायलाइसिस सेवा लिने कूल सङ्ख्या ५० भन्दा बढी छन्। तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलाइसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन्।
विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलाइसिस युनिट सञ्चालनमा आएको थियो। उक्त युनिट गत वर्षको कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ। युनिटमा हालसम्म दुई सय २८ ले डायलाइसिस सेवा लिएका छन्। केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलाइसिस सेवा लिइरहेका छन्।