काठमाडौं- ११ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा हुने भएको छ। नेपाल फिजियोथेरापी संघ (नेप्टा)ले मंसिर १६ गते ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा गर्दैछ।
देश तथा विदेशका फिजियोथेरापी पेशाकर्मी, विद्यार्थी, अनुसन्धानकर्ता आदिलाई लक्षित गरेर आयोजना गरिने सम्मेलन सबैको लागि फिजियोथेरापी: समग्र नेपालको स्वास्थ्य प्रणाली प्रवद्धनको लागि आयामहरुको खोजी विषयमा केन्द्रित रहनेछ। कार्यक्रमका मुख्य आकर्षण फिजियोथेरापी, पुनर्स्थापना तथा समग्र स्वास्थ्य ब्यबस्थमा विभिन्न कार्यशाला, मन्तब्य, प्रतिस्पर्धात्मक प्रस्तुतीहरु रहने नेप्टाका महासचिव विनय कंडेलले जानकारी दिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब ५०० फिजियोथेरापी अध्यनरत विद्यार्थी, फिजियोथेरापिष्ट तथा पुनर्स्थापना पेशाकर्मी, व्यवस्थापक, प्रशासकहरूको उपस्थित रहने बताइएको छ। उक्त सम्मेलानमा पाँचजना अन्तर्राष्ट्रियस्तरका स्रोत व्यक्ति र सातजना नेपालभित्रकै स्रोत व्यक्तिहरुले फिजियोथेरापी सम्बन्धित खोज तथा अनुसन्धान मूलक प्रस्तुतिहरु दिनेछन्। साथै फिजियोथेरापी अध्यनरत विद्यार्थीहरुबाट विभिन्न विषयमा सोधपत्र तथा तथ्यांक पेपर, पोस्टर एवंई-पेपर प्रस्तुत गर्नेछन्।
२०५८ सालमा राष्ट्रिय निर्देशन ऐन २०५९ अन्तर्गत दर्ता भई सन् २००३ मा फिजियोथेरापीष्टहरुको विश्वव्यापी संस्था "विश्व फिजियोथेरापी"को सदस्यता प्राप्त गरेको नेपाल फिजियोथेरापी संघले आयोजना गर्ने सो सम्मेलनमा ११औं भएता पनि काठमाडौँ उपत्यका बाहिर गरिने पहिलो सम्मेलन हो। देशमा संघीयता लागू भएपछि नेपाल फिजियोथेरापी संघको विस्तारित प्रादेशिक च्याप्टरमध्ये बागमती प्रदेशको सक्रिय भूमिका र केन्द्रीय नेप्टाको समन्वयमा सो कार्यक्रम गर्नेतयारी गरिएको हो।
आगामी दिनमा पनि अन्य प्रादेशिक च्याप्टरमा यस्ता सम्मेलनहरू गरिने बताइएको छ। फिजियोथेरापीष्ट मात्र नभई सम्पूर्ण स्वास्थ्यकर्मीले निरन्तर रुपमा यस्ता कार्यक्रममा भाग लिनाले चिकित्सकीय अभ्यास अझै प्रमाणमा आधारित र समय सन्दर्भिक हुने विशेषज्ञहरूको भनाइ रहेको छ।