काठमाडौं- नेपाल चिकित्सक संघको यसअघि स्थगित भएको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेशनल हेल्थ सम्मिट) मंसिर १० गते आइतबाट सुरु हुने भएको छ। १० र ११ गते दुई दिन हुन लागिरहेको उक्त सम्मेलनमा विभिन्न ७ विषयमा छलफल हुने नेपाल चिकित्सक संघले जनाएको छ।
यसअघि असोजमा गर्न लागेको सम्मेलन चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण र दुर्व्यवहारका घटना भएपछि चिकित्सक संघले स्थगित गरेको थियो।
‘थर्ड एनएमए नेशनल हेल्थ समिट २०२३’ नाम दिइएको दुईदिने सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य सन्देशका साथ सम्पन्न हुने संघका मअासचिव डा सन्जिब तिवारीले जानकारी दिए।
सम्मेलन दोस्रो राष्ट्रिय स्वास्थ्य तथा शिखर सम्मेलनका उपलब्धी, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थााको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण,स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थतन्त्र,प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग,समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषयको छलफलमा केन्द्रित रहने बताइएको छ।
सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमुलक नीतिगत सुझाव स्वास्थ्य मन्त्रालय तथा देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने नेपाल तिवारीले बताए। सम्मेलनको मुख्य सन्देशमा विश्व स्वास्थ्य संगठनका विषय विज्ञले की नोट स्पिच दिने बताइएको छ।