काठमाडौं– बर्दियाको गुलरीया गरपालिका–४ तुलापुरको एउटा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। आगलागीमा १ जना घाइते भएका छन्।
शुक्रबार राति तुलापुरस्थित भरत चन्दको घरमा आगो लागेको थियो। आगलागीबाट भरतका छोरा ७ वर्षीय क्रिस चन्द र करिब १८ महिनाका कार्तिक चन्दको मृत्यु भएको छ। यस्तै, भरतकी बिहिनी ३६ वर्षीया राधा बुढा र उनकी छोरी ९ वर्षीया मानसी बुढाको मृत्यु भएको छ।
आगलागीबाट २७ वर्षीया करिश्मा चन्द घाइते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल बर्दिया, गुलरियामा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार आगो ताप्ने क्रममा शुक्रबार राति आगलागी भएको थियो।
आगलागीबाट घरको एउटा कोठा जलेर पूर्ण क्षतिग्रस्त भएको छ।
प्रहरीका अनुसार घरमा आगलागी हुँदा भरत भने घरमा थिएनन्। उनी काम विशेषले बाँकेको कोहलपुरमा हुँदा घरमा आगो लागेको हो।
जाडोको समयमा माइतीको घरमा आगो ताप्ने भन्दै छिमकमै घर भएकी भरतकी बहिनी राधा पनि त्यहाँ आएकी थिइन्। कोठाभित्र आगो सल्काउँदा धुँवा जम्मा भएर उनीहरु निस्सासिएर बेहोस भएको र पछि आगो सल्किएको देखिएको प्रहरीले जनाएको छ।