काठमाडौं- गत निर्वाचनमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा भोजराज अधिकारीले चुनावमा दिएको 'जनतासँग अस्पताल' नारालाई अभियान बनाएका छन्। डा अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ उक्त अभियान अघि बढाएको उनले बताएका छन्।
शनिबार चितवनको विकट पहाडी क्षेत्रमा पर्ने इच्छाकामना वडा नं ७ भालुमारामा बृहत् स्वास्थ शिविर गरेका छन्। जसबाट ५ सय २१ जना स्थानीय लाभान्वित भएको उनले जानकारी दिएका छन्। ९ विधामा चिकित्सकहरु र स्वास्थ्यकर्मीले बिरामीको जाँच गरेका छन्।
'जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा स्वास्थ्य शिविर गरिएको हो,' डा अधिकारीले भने। इच्छाकामनाको वडा नं ७ भालुमारा क्षेत्रमा पनि दम, सुगर, प्रेसर आदिका बिरामी धेरै पाइएको उनले बताएका छन्। नेकपा माओवादीका केन्द्रीय सदस्य श्याम श्रेष्ठले माओवादी नेता कार्यकर्ता जनताकै घरबाट उदाएका कारण पुनः एकपटक जनतासँग बसेर, सेवा गरेर पुर्नजागृत हुने अभियान फलदायी भइरहेको बताए।
स्वास्थ्य शिविरमा सेवा लिन आएका स्थानीय जुल्फे थापा मगरले यसरी गाउँमै स्वास्थ्य जाँच गर्न पाउँदा गाउँलेहरु निकै खुशी भएको उल्लेख गरे। स्वास्थ्य जाँच गरी औषधी आवश्यक पर्ने बिरामीको लागि ३ महिनाको औषधी निशुल्क वितरण गरिएको थियो। सबै बिरामीको रगत र पिसाब तत्कालै परीक्षण गरिएको शिविरमा आवश्यक बिरामीको भिडियो एक्स रे समेत गरिएको थियो।
पाठेघरको मुख क्यान्सर सम्बन्धी परिक्षण ४८ जना १२ जनामा क्यान्सर पोजेटिभ र उच्च रक्तचापका ७५ जना देखिएको छ । १४ जनाको थप उपचारका लागि रिफर समेत गरिएको नेकपा माओवादी चितवनका नेता एवंम् जिल्ला सचिव द्रोण शिवाकोटीले जानकारी दिए। कार्यक्रममा नेकपा माओवादी चितवनका नेता एवंम् जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले जनतासँग गरेका वाचा पूरा गर्न हरेक क्षेत्रले फिल्डमै खटिएर काम गरिरहेको बताए।