काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अन्जनी कुमार झाले आगामी दिनमा नेपालमा मेडिकल टुरिजमलाई बहसका रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्।
एनएमए तेस्रो स्वास्थ्य शिखर सम्मेलनमा बोल्दै आयोगका उपाध्यक्ष झाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सम्बन्धित क्षेत्रका व्यक्तिले अडानका साथ काम गर्नुपर्ने बताए। उनले उपत्यका बाहिरका अस्पतालमा नगई बिरामीहरु वीर र टिचिङ अस्पताल मात्रै धाउने परिपाटी रहेकोले वीर अस्पताललाई रेफरल केन्द्रका रुपमा विस्तार गर्नुपर्नेमा उनको जोड थियो।
शिक्षाको क्षेत्रमा मेडिकल टुरिजमको बहस विगतदेखि नै चल्दै आएपनि आगामी दिनमा स्वास्थ्यतर्फ मेडिकल टुरिजमको बहसलाई अगाडि बढाउनुपर्ने उनको धारणा थियो।
साथै उनले नेपालमा स्वास्थ्यकर्मीहरुको दरबन्दी किन थपिएन भन्दै एक पटक छलफल चलाउन आवश्यक रहेको बताए। पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै २६ हजार स्वास्थ्यकर्मीको दरबन्दी थप्न आवश्यक रहेको उनको तर्क थियो।
यसका लागि स्वास्थ्यमन्त्रीले नेपालभर २६ हजार स्वास्थ्यकर्मीको दरबन्दी थप्न आवश्यक रहेको भन्दै लिखित रुपमा नै फाइल अगाडि बढाइसकेको अवस्था छ। भने राजनीतिज्ञहरुले समेत स्वास्थ्यकर्मीको दरबन्दी थप्न आवश्यक रहेको भन्दै गर्दाे यसको बाधक को भन्दै उनले प्रश्न गरेका छन्।