काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले नेपाललाई मेडिकल शिक्षाको हब बनाउन सकिने बताएका छन्।
विभिन्न कारणले नेपालको रकम चिकित्सा शिक्षाका लागि विदेश इरहेको भन्दै कानुन सुधार गरेर भएपनि नेपालमै गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने बताए। तेस्रो एनएमए शिखर सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
उनले नेपालमा चिकित्सक तथा नर्सको खडेरी पर्न नदिनका लागि स्वास्थ्य क्षेत्रमा केही सुधार आवश्यक रहेको बताए। नेपालमा काम नपाएर आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको तथा आफूलाई दैनिक ९ जनासम्म डिप्रेशनको शिकार भएको भन्दै भेट्न आउने गरेको बताए।
नर्सिङ कलेजहरु बन्द भएका कारण धेरै जना नर्सिङ पढ्न विदेशिएको अवस्था रहेको उनले बताए। ८२ प्रतिशत ल्याउनेले नर्स पढ्न नपाएको उनको दाबी थियो। उनी आफू नेपालीले नेपालमै चिकित्सा शिक्षा पढ्न पाउनुपर्छ भन्नेमा लागिपरेको बताए।
उनले १ सय देखी ३ सय बेड भएका अस्पतालले नर्स तथा पारामेडिक्स पढाउन पाउने व्यवस्था आएमा नेपालका सबै प्रदेशमा सरकारी मेडिकल कलेज खुल्ने तथा चिकित्सा शास्त्र अध्ययनका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने बताए।