काठमाडौं- धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ वर्ष सेवा गरेका डा लोक बहादुर श्रेष्ठ हालअष्ट्रेलियामा सम्मानित भएका छन्।
युनिभर्सिटी अफ न्यू साउथ वेल्सकमा कोरोना भाइरस विषयमा विद्यावारिधी गरिरहेका श्रेष्ठलाई अष्ट्रेलिया र न्यूजिल्याण्डको प्रतिष्ठित संस्था (अष्ट्रेलिया र न्यूजिल्याण्ड सोसाइटी फर इम्युनोलोजी) ले नगद सहितको सम्मान गरेको छ। उनले कोरोना विरुद्घको विभिन्न खोपको बारेमा अध्ययन अनुसन्धान गरेका छन र केही उल्लेख्य रिर्सच आर्टिकलहरु प्रकाशित गरेका छन्।
युवा बैज्ञानिकहरुमध्ये इम्युनोलोजी क्षेत्रमा उत्कृष्ट र प्रभावकारी अनुसन्धान प्रकासित गर्ने मध्येका एक जनालाई प्रदानगरिने उक्त पुरस्कारको राशी २१४४ अमेरिकी डलर (रु २,८५,०००) रहेको छ। विद्यावारिधि सुरु गरेको छोटो समयमा नै उत्कृष्ट लेखहरु प्रकासित गरेका डा लोकले युनिभर्सिटी अफ न्यू साउथ वेल्सले दिने साइटेसन क्लासिक अर्वाड दुई पटक जितेका छन्।
उनी हालसालै विश्वको उत्कृष्ट मानिने अक्सफर्ड विश्वविधालयमा कोरोना खोप अनुसन्धान र निर्माणसम्बन्धी तालिममा भाग लिएर फर्किएका हुन। डा श्रेष्ठ यसै बर्षको जुलाई महिनामा विश्वको उत्कृष्ट युवा वैज्ञानिकहरुको रुपमा छनौट भई अमेरिकाको नेशनल ईन्स्टीच्युट अफ हेल्थ र जोन हप्कीन्स युनिभर्सिटीमा समेत तालिम लिएर आफ्नो अनुसन्धान प्रस्तुत गरेका गरेका छन्।
उनले नेपालमा समेत डेगुं र कोरोना भाइरस जस्ता संक्रमण रोगको निदान र नियन्त्रणमा उल्लेख्य भुमिका खेलेका छन। कोरोना महामारीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गठन गरेको उच्चस्तरीय टिममा सूक्ष्म जिवाणु एवं संक्रमण रोग विशेषज्ञको भुमिका खेल्नुको साथै नमुना संकलनको नेतृत्व समेत गरेका थिए।