काठमाडौं- नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजनामा काठमाडौंमा इन्टरभेन्सन रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। उक्त कार्यक्रम गत मंसिर ८ र ९ गते आर्मी अफिसर्स क्लब सुन्धारामा सम्पन्न भएको हो।
सम्मेलनमा नेपाललगायत भारत, जापान, दक्षिण कोरिया, बंगलादेश, श्रीलंका र नर्वेसहित ७ देशका ख्यातिप्राप्त विज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो।
सम्मेलनमा इन्टरभेनसनल रेडियोलोजी विशेष जर्नल विमोचन गरिएको छ। सो सम्मेलन इण्डियन सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेनसनल रेडियोलोजी सँगको सहकार्यमा भएको हो।
सम्मेलनमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माज्यु र इण्डियन सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेनसनल रेडियोलोजीका सचिव डा अजित यादव सहभागी थिए। सम्मेलनमा नेपाली चिकित्सा क्षेत्रका अगुवा चिकित्सकरु पनि सहभागी थिए।
सम्मेलनमा विभिन्न विधाका चिकित्सकहरुलाई तार र क्याथेटर लगायतको उपकरणको माध्यमबाट गरिने उपचार विधीबारे जानकारी गराइएको छ। सम्मेलनको दोस्रो दिन स्वदेशी तथा विदेशी चिकित्सकहरुका वैज्ञानिक अध्ययण अनुसन्धानका २७ वटा प्रस्तुतीहरु राखेका थिए।
चिरफार बिनाको उपचार पद्धति भएकाले इन्टरभेनसनल रेडियोलोजी विधा लोकप्रिय बन्दै गइरहेको र यो उपचार पद्धति शल्यक्रियाभन्दा सहज र भरपर्दो हुनुका साथै यस पद्धतिबाट उपचार गर्दा अस्पताल बसाइ कम हुने, शल्यक्रियामा हुने जटिलता कम हुने, रिकभरी राम्रो हुने, संक्रमणको जोखिम कम हुने, सबै केसहरुमा पूर्ण रुपमा बेहोस गर्नु नपर्ने जस्ता विशेषताहरु रहेको आयोजक समितिका सचिव कन्सल्ट्यान्ट इन्टरभेनसनल रेडियोलोजिष्ट डा मनिष थापाले जानकारी दिए।