काठमाडौं- 'लैङ्गिक हिंसा र बालबिबाह अन्त्यको लागि मर्यादित महिनावारी' भन्ने मूल नाराकासाथ पाँचौं मर्यादित महिनावारी दिवस नेपालमा पनि मनाइने भएको छ। दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल, राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा डिसेम्बर ८ मा विशेष कार्यक्रमसहित यो दिवस मनाउँदैछ।
समाजले महिनावारीलाई हेर्ने दृष्टिकोण बदल्न र मर्यादित महिनावारीको आन्दोलनमा जनचेतना जगाउँदै त्यसमा सकारात्मक परिवर्तन प्रवर्द्धन गर्ने
उदेश्यका साथ यो दिवस मनाउन लागेको हो। नेपालमा मनाइने दिवसमा विश्वभरीका १५ भन्दाबढी देशबाट भर्चुल रुपमा सहभागिता रहनेछ।
कार्यक्रममा मर्यादित महिनावारीमा युवाको भूमिका विषयमा नीतिसम्वाद हुनेछ। बालविवाह र महिनावारी विभेद विरुद्धको कवितासँगै कार्यक्रम सुरु हुनेछ। दिवसको अवसरमा मर्यादित महिनावारी बारे पहिलो प्रशिक्षण पुस्तिका मर्यादित महिनावारीका १५ सवालमा पत्रकाहरुले लेखेको फेलोसीप किताब पनि बिमोचन गरिनेछ। मर्यादित महिनावारीका विषयमा भएको अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता र राष्ट्रिय निवन्ध प्रतियोगिताका विजेता घोषणासमेत गरिनेछ।
संयुक्त राष्ट्र संघले घोषणा गरेको १६ दिने अभियानको १४ औं दिन, डिसेम्बर ८ लाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको रुपमा मान्यता दिन संयुक्त राष्ट्र संघको महासभामा दवाव दिइदै आएको छ। यसपटक पनि दक्षिण गोलर्दिय मर्यादित महिनावारी सञ्जालले नेपाल भ्रमणका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई ज्ञापनपत्र दिएको थियो।