काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाएर स्वास्थ्य मन्त्रालयमा तानेपछि डा सन्तोष पौडेलले स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्णयको विरोध गरेका छन्।
डा पौडेलले मन्त्रालयको पत्र सामाजिक सञ्जाल फेसबुकमा राख्दै 'मन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको' लेखेका छन्।
डा पौडेलले दुई वर्षको अवधि तोकी नियुक्ति पाएको आफूलाई राजनीतिक अस्थाका आधारमा निर्देशकबाट हटाइएको र हाडजोर्नी विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानिएको विषय पनि लेखेका छन्।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाज्ञ अक्षम भनेर तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएको विषय लेख्दै मन्त्रालयको निर्णयको विरोध गरेका हुन्।
यस्तो छ डा सन्तोषले फेसबुकमा लेखेको विवरण
अधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको अक्षम’ भनेर आरोप लगाएर हटाएको इतिहास छ! दुई वर्षको अवधि तोकी नियुक्त्ती पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको बिशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो!!?? यो राणा शासन भन्दा कडा अधिनयकबाद हो!!
विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट “लोकतन्त्र लजाएको छ”!!
निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कार्यार्थका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। सोही पत्रपछि मन्त्री बस्नेतले बिहीबार डा पौडेललाई मन्त्रालयमा तान्ने निर्णय गरेका थिए।
डा सन्तोष गत फागुनमा नेकपा एमालेबाट स्वास्थ्य मन्त्री बनेका पदम गिरीको पालामा अस्पतालको निर्देशक नियुक्त भएका थिए।