राँझा (बाँके)- बाँकेको वैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य फोहर विसर्जन गर्ने मेसिन) सञ्चालन नहुँदा औषधिजन्य फोहर निर्मलीकरणमा समस्या भएको छ।
स्वास्थ्य केन्द्रमा औषधिजन्य फोहर विसर्जन गर्ने दुई थान अटोक्लेभ मेसिन भए पनि दुवै सञ्चालन नगरी थन्क्याएर फोहरलाई डम्पिङसाइटमा फाल्ने गरिएको छ।
औषधिजन्य फोहर डम्पिङसाइटमा पठाउँदा जनस्वास्थ्यमा नकारात्मक असर पर्दै गएको वैजनाथ गाउँपालिकाका नागरिक अगुवा पुनितविक्रम शाहले बताए। 'भएको मेसिन थन्क्याएर फोहर खुलेयाम डम्पिङसाइटमा पठाएर मानव स्वास्थ्यमा खेलबाड गर्ने काम भएको छ', उनले भने, 'मेसिन सञ्चालन गरेर औषधिजन्य फोहर निर्मूलीकरणमा गाउँपालिकाले चासो दिन जरुरी छ।'
केन्द्रमा एकवर्ष अघि ग्रामीण गेरुवा जागरण सङ्घले अटोक्लेभ मेसिन सहयोग गरेको थियो। एउटा हुँदा हुँदै लुम्बिनी प्रदेश सरकारले अर्को मेसिन केन्द्रलाई दिए पनि उपयोग हुन सकेको छैन।
मेसिनबाट केही समय औषधिजन्य फोहर निर्मूलीकरण हुँदै आए पनि पाँच महिनायतादेखि फोहर डम्पिङसाइटमा पठाउने गरिएको हो। केन्द्रका निमित्त प्रमुख सिनियर अनमी दुर्गा भण्डारीले एउटा मेसिन बिग्रिएर थन्किएको र प्रदेश सरकारले दिएको नयाँ मेसिन सञ्चालनमा नआएको बताइन्। केन्द्रसँग बजेट नहुँदा भएका मेसिन सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो।
वैजनाथ–५ का वडाध्यक्ष तथा केन्द्रका सञ्चालन समितिका अध्यक्ष देवबहादुर रावतले अस्पतालजन्य फोहर निर्मूलीकरण गर्ने दुई थान अटोेक्लेभ मेसिन थन्क्याएर फोहर ट्र्याक्टरलाई दिन बाध्य भएको बताए।
गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले अटोक्लेभ मेसिन बिग्रिएर औषधिजन्य फोहर पनि डम्पिङसाइटमा पठाएको हुनसक्ने बताउँदै मेसिन सञ्चालनमा आवश्यक प्रक्रिया सुरु गर्ने जानकारी दिए। रासस