काठमाडौं- नेपाल रेडक्रस सोसाइटीले जाजरकोट भुकम्पपछि विपद्मा केन्द्रित हुँदा मानसिक स्वास्थ्य ओझेलमा परेको बताएको छ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) ले जाजरकोट भूकम्प प्रतिकार्यका सम्बन्धमा एक पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सरकारको सहयोगी निकायको रूपमा भूकम्प प्रभावित समुदायलाई निष्पक्ष, तटस्थ र पारदर्शी रूपमा सेवा पुर्याउन रेडक्रस तत्पर रहेको बताउँदै भूकम्प प्रतिकार्य कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको सहयोग महत्वपूर्ण रहेको बताए।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का नेपाल प्रमुख अजमद् उल्लाले भूकम्प प्रभावितहरूको सहयोगका लागि महासंघ र यस अन्तर्गतका साझेदार राष्ट्रिय सोसाइटीहरू नेपाल रेडक्रस सोसाइटीको साथमा रहेको उनको धारणा थियो। भूकम्प प्रभावित क्षेत्रहरूमा अन्य सहयोगका साथै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग अझ महत्वपूर्ण रहेको उनको जिकिर थियो।
नेपाल रेडक्रस सोसाइटीद्वारा जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि गत एक महिनामा गरिएका प्रतिकार्यका गतिविधिहरू, स्रोतको अवस्था र आवश्यक्ता, चुनौतीहरू र भावी कार्ययोजनाहरूका बारेमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आजोजना गरिएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले जाजरकोट र रुकुम पश्चिममा रेडक्रसले गरेका गतिविधिहरूका बारेमा प्रस्तुतीकरण गर्दै हालसम्म प्रभावित परिवारहरूलाई ३ हजार ९ सय ७० थान त्रिपाल, २ हजार ७ सय ८० थान कम्बल, २ हजार ८ सय थान म्याट्रेस, ७ हजार ४ सय १५ थान डिगनिटी कीट र १ सय ३२ थान हाइजीन कीट वितरण गरिएको बताए।
यस्तै भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार, राहत, बिस्तृत लेखाजोखाको सर्भेक्षण लगायतका कार्यका लागि नेपाल रेडक्रसका ३ सय ९० स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले रेडक्रसले आफ्नो स्रोत र क्षमता अनुसार भूकम्प प्रभावितलाई सक्दो सहयोग पुर्याउने बताउँदै जीविकोपार्जन, खानेपानी, सरसफाइ र आवास निर्माणका क्षेत्रमा काम गर्ने बताए।
पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय विपद् व्यवस्थापन समितिका संयोजक विनोदकुमार बस्नेतले स्थानीय तहसँगको समन्वयमा भूकम्प प्रतिकार्यका गतिविधिहरु सञ्चालन भइरहेको दाबी गरे।