चितवन- भरतपुर महानगरपालिपालिकाकी मेयर रेनु दाहालले बुधबार ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’को उद्घाटन गरेकी छन्। गाँउ–गाँउ, वडा–वडा र टोलटोलमामा पुगेर चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रयोगशालासहितको घर घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यक्रमको सुरवात गरिएको हो।
भरतपुर–२४ मा एक समरोहकाबीच ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरिएको हो। उक्त अवसरमा मेयर दाहालले आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरेकी छन्।
उद्घाटन कार्यक्रममा बोल्दै महानगरप्रमुख रेनु दाहालले भनिन्, ‘महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको हो’, स्वास्थ्य शिविरमा स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीहरूको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा उपचारको व्यवस्था गरिनेछ।’
उनले अगाडि भनिन्, ‘थप उपचारका लागि संघीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालसँग समन्वय गरिएको छ।’ भरतपुर अस्पतालबाट जनताले थप उपचार पाउने मेयर दाहालको भनाइ थियो।
यस कार्यक्रमअन्तर्गत महानगरपालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिनेछ। महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचापको परीक्षण गरिनुका साथै उचाइ र तौल लिइने छ।
पहिलो चरणमा महानगरका १४ वटा वडामा यो कार्यक्रम लागू गरिने महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख दीपक सुवेदीले जानकारी दिए। उनका अनुसार बाँकी १५ वडामा दोस्रो चरणमा कार्यक्रम सञ्चालन गरिने छ।
पहिलो र दोस्रो चरणमा २५-२५ दिन स्वास्थ्यकर्मी जनताको घरदैलोमा पुग्नेछन्। यस क्रममा आएका जनताका समस्यालाई समाधानका लागि शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने उनले जानकारी दिए। उनका अनुसार यस कार्यक्रममा एक सय स्वास्थ्यकर्मी परिचालन हुनेछन्। अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन्। सो अभियानमा नसर्ने रोगलाई प्राथमिकतामा राखिनेछ।
करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको सुवेदीले बताए। महानगरभित्र प्राथमिक स्वास्थ्यचौकी, स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्यकेन्द्र, नगर स्वास्थ्यकेन्द्र र आयुर्वेद स्वास्थ्यकेन्द्र गरी ४० वटा स्वास्थ्य उपचार केन्द्र रहेका छन्। वडा नं २४ का वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो। यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो।
महानगरबाट सुरु गरिएको यस कार्यक्रमबाट अशक्त नागरिक, वृद्धबवृद्धा र विशेषगरी आफ्ना सन्तान घरबाहिर भएका नागरिकहरू लाभान्वित हुनेछन्। घरदेखि अस्पतालसम्म पुग्न समस्या भएका नागरिकलाई यसबाट प्रत्यक्ष लाभ मिल्नेछ। भौतिक विकासमा फड्को मारिरहेको भरतपुर महानगरले नगरवासीको स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका थुप्रै क्षेत्रमा काम गरिरहेको छ। कार्यक्रममा उपस्थित नागरिकहरूले मेयर रेनुको कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए।