चितवन- चिकित्सकीय भूमिकामा रहँदै गर्दा जनजनको मुखमा आउने नाम थियो डाक्टर भोजराज अधिकारी। उनले चिकित्सा पेसासँगै राजनीति पनि सुरु गरे। तर उनी चुनावमा पराजित भए।
चुनावमा पराजित भएपनि जनताको स्वास्थ्य सेवालाई जिल्लाका विकट बस्तीसम्म फैलाउन निरन्तर अभियान सञ्चालन गरेका उनै डाक्टर भोजराज अधिकारीले अस्पतालको आफ्नो सेवालाई थप विस्तार गर्न पहुँचमा नभएका जनतालाई स्वास्थ्यसँग जोड्ने अभियान नै सञ्चालन गरेका छन्। उनले बस्तीबस्तीमा पुगेर स्वास्थ्य शिविरमार्फत जनतालाई उपचारको पहुँचमा ल्याउनु ल्याउन अनवरत प्रयास गरिरहेका छन्।
बुधबार भरतपुर–२४ मा आयोजित ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’को उद्घाटनका अवसरमा बोल्दै डा अधिकारीले आफूले चुनावी अभियानका क्रममा जनतासँग गरेको बाचा स्मरण गर्दै भने, ‘हामीले त्यतिबेला चुनाव प्रचारका क्रममा प्रचार गरेका छ वटा ‘स’मध्येको ‘जनताको स्वास्थ्य’ थियो, चुनावी परिणाम जेजस्तो आएपनि घोषणापत्र अनुसार नै जनताको स्वास्थ्यप्रति सधैँ क्रियाशील रहने र त्यसका लागि अभियानहरू सञ्चालन भइरहेका छन्।’ विशेष गरी डा अधिकारीको अभियानबाट अस्पताल आउन नसक्ने, आर्थिक अभावले उपचार सेवाबाट वञ्चित रहेका, समयमा उपचार गर्नुपर्छ भन्ने ज्ञानको अभाव भएका जनता लाभान्वित हुनेछन्। डा अधिकारीको यस अभियानबाट जटिल स्वास्थ्य समस्या भएकाहरू अस्पतालसम्मै पुगेर उपचार सेवा लिन सक्षम हुनेछन्।
गत निर्वाचनमा चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बनेका डा अधिकारीले ‘जनतासँग अस्पताल’ को नारा लिएर चुनावमा होमिएका थिए। निर्वाचनमा परिणामबाट उनी पराजित भएपनि उनले आफ्नो पेशासँगसँगै तत्कालीन अवस्थामा बोकेको रालाई साकार पार्न अनवरत काम गरिरहेका छन्। उनी भन्छन्, ‘चुनावमा त म पराजित भएँ तर जनतासँग गरेको बाचा पूरा गर्नुपर्छ भनेर लागिरहेको छु।’
महानगरपालिकाले सुरु गरेको ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’को विज्ञको भूमिका डा अधिकारीले नै निभाउने भएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘महानगरभित्रका ६८ वर्षमाथिका २५ हजार वृद्धवृद्धा हुनुहुन्छ, उहाँहरूलाई घरमै पुगेर मधुमेह, उच्च रक्तचाप, तौल, मोटोपनजस्ता रोगको परीक्षण गरेर आवश्यक औषधि र सुझाव दिने कार्यक्रम छ’, त्यसका लागि महानगरले मलाई विज्ञको भूमिका प्रदान गरेको छ, यसलाई कर्तव्य सम्झेर निभाउनेछु।’
डा अधिकारीले भने, ‘६८ वर्षमाथिका २५ हजार वृद्धवृद्धासँग साक्षात्कार हुने मौका पाउनु चानेचुने कुरा होइन’, नेपाली समाजमा वृद्धवृद्धाको स्थान महत्वपूर्ण हुने भन्दै डा अधिकारीले भने, ‘वृद्धवृद्धाहरू भगवानरुपी हुन्छन्, उहाँहरूलाई ८४ सम्म लैजाने (८४ वर्षमा गरिने धार्मिक कार्य) हाम्रो लक्ष्य हो।’ चुनावताका आफूले बाचा गरेको जमिनको लालपुर्जा उपलब्ध गराउने चुनावी नारा सम्झँदै डा. अधिकारीले भने, ‘चुनावमा त पराजित भएँ तर तपाइँहरूको माझमा ‘स्वास्थ्यको लालपुर्जा’ उपलब्ध गराउन आइपुगेको छु, यो सानोतिनो कुरा होइन।’
डा अधिकारीको भनाइमा विश्व स्वास्थ्य संगठनको आधारभूत स्वास्थ्यअन्तर्गत समुदायसँग स्वास्थ्य कार्यक्रम गरिएको हो। यो कार्यक्रमलाई प्रभावकारी बनाउन अधिकारी जुट्नु भएको छ। घरघरमा पुगेर स्वास्थ्य सेवा दिन कार्यक्रम प्रभावकारी हुने देखिएको छ। डा अधिकारीकै नेतृत्वमा गएको मंसिर ९ गते इच्छाकामना गाउँपालिका वडा नं ७ भालुमारामा बृहत् स्वास्थ शिविरको आयोजना गरिएको थियो। सो शिविरमा ५२१ जना स्थानीयवासीले घरदैलोमो स्वास्थ्यसेवा पाएका थिए।
त्यसैगरी माडीको हनुमानझुलामा बृहत एकीकृत स्वास्थ शिविरको आयोजना गरी ५१४ जनालाई उनकै नेतृत्वमा स्वास्थ्यसेवा प्रदान गरिएको थियो। सो शिविरमा ९ विधाका चिकित्सकहरू र स्वास्थ्यकर्मीले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए। अधिकारीले भने, ‘जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा शिविरमा सक्रिय छु।’
![No description available.](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.15752-9/403419855_1376472409744237_4328730483201425213_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=NnACLac7y78AX-q-7bm&_nc_ht=scontent.fktm10-1.fna&oh=03_AdQ22A3Bs8kFSocoSxoDDEo6hqfUX2-ST7KaPqMPDk_Q6A&oe=6597A34E)
भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष अधिकारीले लामो समय भरतपुर अस्पतालमा फिजिसियन चिकित्सकको रुपमा सेवा गरेका थिए। यही क्रममा जिल्लामा चर्चित चिकित्सकको रुपमा उनी परिचित छन्। यससँगै उनको यात्रा राजनीतितर्फ मोडिएको थियो।
गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ छाडेर गोरखा जाने भएसँगै यस क्षेत्रमा उपयुक्त उम्मेदवारको रुपमा अधिकारीलाई रोजिएको थियो। निर्वाचनका समयमा अध्यक्ष दाहालले अधिकारीलाई निर्वाचित गराएर स्वास्थ्यमन्त्री बनाउने संकेत गरेका थिए।
![No description available.](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.15752-9/403398622_1037234964095196_2856123448640542388_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=vISb4vqjZNoAX-qPs3x&_nc_oc=AQnJ4I0pfL5vOduY9sd7hHfge35aXowRQj-P0CizHaSomkV5kULFSMUmYSUfaZWSZlU&_nc_ht=scontent.fktm10-1.fna&oh=03_AdQjTIe_w3mGvqjYBlgwx0fZBU5_eFoKzyyXNbocestlVA&oe=6597C5F2)
डा अधिकारी माओवादी पार्टीको स्वास्थ्य विभागको सचिव समेत हुन्। राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गर्दा डा. अधिकारीलाई राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने चर्चा समेत चलेको छ। यस सम्बन्धमा अधिकारी भन्छन्, ‘पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु, यद्यपि मेरो पहिलो प्राथमिकता आमनागरिकको स्वास्थ्य उपचार नै हो।’