रसुवा- रसुवा जिल्ला अस्पतालको सहयोग र गोर्खा वेल्फेयर ट्रस नेपाल नामक संस्थाको आयोजनामा धुञ्चेमा सञ्चालित विशेष स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले उपचार गराएका छन्।
रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहका अनुसार यही १६ गतेदेखि १९ गतेसम्म सञ्चालित शिविरमा दन्त तथा नाक, कान घाँटीको समस्या र अपाङ्गता भएका आठ सय ५९ नागरिकले उपचार गराएका थिए।
स्वास्थ्यशिविरका लागि तीन दिनको समय तनोकिए पनि बिरामीको चापका कारण एक दिन थप गरी चार दिनसम्म सञ्चालन गरिएको थियो।
उपचारका लागि आएका बिरामीमध्ये दुई सय ६९ कानको बिरामीमध्ये एक सय ४३ जनाको शल्यक्रिया गरिएको थियो। एक सय २१ जनालाई कानसुन्ने श्रवणयन्त्र प्रदान गरिएको र दुई जनाको कानको विशेष शल्यक्रियाका लागि काठमाडौँ पठाइएको थियो।
स्वास्थ्यशिविरमा पाँच सय ३४ जनाको दाँतको उपचार र अपाङ्गता भएका ५६ जनालाई सहयोग सामग्री वितरण गरिएको डा शाहले बताउनुभयो। स्वास्थ्यशिविरमा गोर्खा वेल्फेयर ट्रस नेपालले आवश्यक उपकरणसहित ४१ भन्दाबढी जनशक्ति उपलब्ध गराएको सो संस्थाका व्यवस्थापकीय निर्देशक जय लिम्बूले जानकारी दिनुभयो। शिविरमा जिल्लाका पाँचवटै गाउँपालिका बासिन्दा सहभागी थिए । रासस