काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले नेपालको समग्र स्वास्थ्य क्षेत्र दुई चार जना पहुँचवालाहरुको कब्जामा रहेको बताएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्थापना गरिएको पोइजन सूचना केन्द्रको उद्घाटनका गर्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।
'नेपालले २२ वर्ष अगाडिकै स्वास्थ्य जनशक्तिले स्वास्थ्य सेवा प्रदान गरिरहेको अवस्थामा, स्वास्थ्य क्षेत्रमा जनशक्ति बढ्नुको साटो घट्दो अवस्थामा रहेको मन्त्री बस्नेतको दाबी थियो। नेपालमा स्वास्थ्य सेवा पहुँचवालाहरुको कब्जामा रहेको अवस्थामा दुरदराजका मानिसहरुलाई स्वास्थ्य सेवा कसरी प्रदान गर्ने भन्ने चुनौती हामी माझ रहेको छ' उनले भने।
यस्तो अवस्थामा त्रिवि शिक्षण अस्पतालमा स्थापना भएको पोइजन सुचना केन्द्रले टेलिमेडिसिनको काम गर्न सक्ने उनले बताए।
मन्त्री बस्नेतले कूल मृत्युमध्ये १० प्रतिशत आत्महत्याका कारण हुने गरेको बताएका छन्। संसारभर आत्महत्याका घटना बढ्दै गएपनि नेपालमा यसको अवस्था कहालीलाग्दो रहेको बताए। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्थापना गरिएको पोइजन सूचना केन्द्रले नेपालभर विष सेवनका कारण हुने मृत्युदरलाई घटाउनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री बस्नेतको दाबी थियो।
केन्द्रलाई आवश्यक परेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै सहयोग उपलब्ध गराउने मन्त्री बस्नेतको प्रतिबद्धता थियो।
उनले भने, 'नेपालमा सम्पूर्ण पालिका स्तरका अस्पतालहरु शिलान्यास मात्रै भएको तथा त्यसमा आवश्यक भौतिक संरचना तथा दक्ष जनशक्ति स्थापना नभएको तत्कालीन अवस्था छ। यो केन्द्र त्रिवि शिक्षण अस्पतालमा स्थापना भएपनि यसले दुरदराजसम्म सेवा पुर्याउन सक्छ।'