काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि गृहमन्त्री श्रेष्ठ गत मंगलबार (मंसिर १९ गते) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी भर्ना भएका थिए।
मंगलबार राति नै चिकित्कले मन्त्री श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो। एन्जियोप्लास्टी सर्जरीपछि केही दिन अस्पताल बसेका श्रेष्ठ आइतबार डिस्चार्ज भएका गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।
चीनको भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठलाई मुटुमा समस्या देखिएको थियो। त्यसपछि उनलाई चीनमै अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरुले त्यतिबेला उनको मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको भनेका थिए। चीनमा आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध भएको देखिएको थियो।
चीनमा उपचार गर्दा गरिएको स्वास्थ्य परीक्षणमा श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो। उक्त अवरोध रहेको भागमा मंगलबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा अरुण मास्के समेतको चिकित्सकीय टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।