काठमाडौं - मापदण्ड विपरित सञ्चालन भएका कैलालीका औषधि पसललाई औषधि व्यवस्था विभाग नेपालगन्जले कारबाही गरेको छ ।
औषधि व्यवस्था विभाग नेपालगन्जले गरेको अनुगमनमा कैलाली बर्दगोरिया ३ मा रहेको एक बंगाली डाक्टरद्वारा बिना इजाजत औषधि पसल सञ्चालन गरेको पाइएको छ । त्यसैगरी कैलाली धनगढी ७ मा फुलबारीमा धर्मराज गिरीद्वारा बिना दर्ता औषधि पसल सञ्चालन गरेको पाइएपछि विभागले उक्त औषधि पसलको सम्पूर्ण औषधि जफत गरी अनुसन्धान गरिरहेको बताएको छ ।
त्यसैगरी धनगढी ७ मा सञ्चालित जेसी होमियो मेडिकल हलको सम्पूर्ण औषधि जफत गरिएको छ। विभागका अनुसार उक्त मेडिकल हल होमियो पेथिक प्रणालीमा दर्ता गरी एलोपेथिक प्रणालीमा सञ्चालित भएकोले कार्वाहीको दायरामा ल्याइएको हो ।
त्यसैगरी चौमाला गौरीगंगा १ स्थित सञ्चालित मानश्री आयुर्वेद श्रीवास्त मेडिकल हल र अत्तरियामा सञ्चालित श्रीजी सर्जिकल सप्लायर्स मापदण्ड विपरीत सञ्चालित भएको भन्दै विभागले सिलबन्दी गरेको छ।