चितवन- चितवनको भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु भएको छ। राजधानी काठमाडौँ उपत्यका बाहिर सबैभन्दा धेरै प्रसूति सेवा दिँदै आएको भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ को स्वास्थ्य मन्त्री मोहन बस्नेतले उद्धघाटन गरेका हुन्।
उद्घाटनपछि बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले भरतपुर अस्पताल विगतमा भन्दा धेरै प्रगतिसहित गुणस्तरी सेवा दिएकोमा खुसी व्यक्त गरे। उनले आम जनताको स्वास्थ्यमा गुणस्तरीय पहुँच वृद्धिका लागि बर्थिङ स्वीट्स रुम नयाँ उपलब्धी भएको बताए।
प्राकृतिक रुपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न बर्थिङ युनिट थप गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले जानकारी दिए। 'एक करोड रुपैयाँ लागतमा नयाँ युनिट निर्माण गरिएको हो। हाल रहेको प्रसूति भवनको नजिकै नयाँ युनिट थप गरिएको हो,' उनले भने।
प्रसूतिका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलाहरुलाई उक्त स्वीट्स रुममा राखिने छ। स्वीट्स रुममा पति वा नजिकको अभिभावक सँगै रहने व्यवस्था गरिएको छ। प्रसूतिको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकहरुको प्राक्टिसलाई यहाँ प्रयोगमा ल्याउन लागिएको भरतपुर अस्पतालको प्रसूति विभागका प्रमुख डा सुनिलमणि पोख्रेलले बताए।