धरान– जेनेभा यूनिभर्सिटी हस्पिटल्स, स्वीट्जरल्याण्डको सहयोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत थ्रीडी गेट (चाल) एनालाइसिस ल्याब स्थापना गरिएको छ। उक्त प्रविधियुक्त ल्याब नेपालकै पहिलो भएको अस्पतालकी प्रवक्ता डा अञ्जु प्रधानले जानकारी दिएकी छिन्।
जेनेभाबाट आएका उक्त हस्पिटलका तीनजना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई सो सम्बन्धी तालिम प्रदान गरेका हुन्। उक्त टोलीमा डा जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका थिए।
सेरेबल पाल्सीका कारण, विभिन्न शल्यक्रियाका कारण वा अन्य हाडजोर्नी सम्बन्धी रोगका कारण हिँडाइको चाल नमिल्ने, हिड्नमा कठिनाई हुने हुन्छ। त्यस्ता बिरामीको हिँडाइ वा चाल ठिक गर्न यस प्रविधिले मद्दत पुर्याउने बताइएको छ। ल्याबभित्र उच्च प्रविधिका आठवटा क्यामेरा विभिन्न कोणमा जडान गरिएको छ । बिरामीलाई हिड्न लगाई सबै कोणबाट चालको भिडियो र ग्राफिक्सहरु लिई उच्च प्रविधिको कम्प्यूटरद्वारा सो भिडियो तथा ग्राफिक्सहरुको विश्लेषण गरी समस्याको पहिचान गर्दछ। यसबाट विशेषज्ञहरुलाई बिरामीको उपचारमा मद्दत पुग्दछ ।
उक्त तालिममा हाडजोर्नी विभागका एसिस्टेन्ट प्रोफेसरद्वय डा आशिष पाण्डे र डा अमित लिम्बू तथा अमन श्रेष्ठ (अर्थोटिष्ट/प्रोस्थेटिष्ट) र मुजाहिद हुसैन (फिजियोथेरापिष्ट) सहभागी रहेको अस्पतालकी प्रवक्ता डा अन्जु प्रधानले बताएकी छिन्।