दीपा घर्ती,प्यूठान- प्यूठानमा जेष्ठ तथा अशक्तता (क र ख वर्गका) भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएको छ। स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा स्थानीय तहहरुको सहकार्यमा मंसिर २४ गतेदेखि ३० गतेसम्म यो कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ।
८० वर्ष माथिका जेष्ठ तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम अन्तरगत यो कार्यक्रम सुरु गरिएको हो। यो अवधिभर प्यूठान जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट घरमै गई निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिइनेछ।
कार्यक्रम अवधिभर स्वास्थ्यकर्मीहरु नागरिकहरुको घरदैलोमा पुगी सामान्य स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन अधिकृत कोशलराज बैद्यले जानकारी दिए। उनका अनुसार ८० बर्ष माथिका जेष्ठ तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण,परामर्श सेवा,रक्तचाप,सुगर र पिसाबको परिक्षण गरिएको छ।
प्यूठान जिल्लामा हाल ८० बर्षमाथिका २ हजार १ सय ७६ जना जेष्ठ नागरिक रहेको स्वास्थ्य कार्यालय प्यूठानको तथ्यांकमा उल्लेख छ। त्यस्तै तथ्यांक अनुसार क वर्गको अशक्तता भएका २ सय ७६ र ख वर्गको अशक्तता भएका १ हजार ३ सय ४ जना नागरिक रहेका छन्।
कार्यक्रमको अवधिभर ३ हजार ७ सय ५६ जना ८० बर्ष माथिका जेष्ठ नागरिक तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिए। प्रमुख पाण्डेले मंसिर १३ गते जिल्लास्थित सरोकारवालाहरुको बैठक बसी यस्तो निर्णय गरेको बताए। जिल्लाका नौ वटै स्थानीय तहहरुमा प्रभावकारी रुपमा सञ्चालन भईरहेको प्रमुख पाण्डेको भनाइ छ।
जिल्लाको ६४ वटै वडामा रहेका स्वास्थ्यकर्मीहरु अभियानका क्रममा गाउँगाउँमा सेवा दिई राखेका छन्।