काठमाडौं- सिन्धुली अस्पताल, सिन्धुलीमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले असोजदेखि तलब नपाएको बताएका छन्।
हालसम्म पारिश्रमिक र दशैँ तिहारको चाडबाड खर्चसमेच नपाएपछि उनीहरुले स्वास्थ्य मन्त्रालय गुहारेका छन्।
तलब नपाउँदा दैनिक गुजारा चलाउन समेत कठिन भइरहेको भन्दै यथाशिघ्र हालसम्मको पारिश्रमिक र दशैँ तिहारको चाडबाड खर्च उपलब्ध गराउन उनीहरुले माग गरेका छन्। उनीहरुले स्वास्थ्य सचिवलाई सम्बोधन गर्दै पत्रसमेत लेखेका छन्।
'सिन्धुली अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले असोजमहिनादेखि हालसम्म पारिश्रमिक र दशैँ तिहारको खर्च सुविधा नपाएकोले हामीहरुको दैनिक गुजारा चलाउन समेत कठिन भइरहेको छ' पत्रमा भनिएको छ, 'यथाशिघ्र हालसम्मको पारिश्रमिक र दशैँ तिहारको खर्च उपलब्ध गराइदिनुहुनका साथै अबउप्रान्त नियमीत तथा सहज रुपमा समेत पारिश्रमिकको व्यवस्था गरिदिन अनुरोध छ।'