रोल्पा- लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालद्वारा गरिएको न्युनतम सेवा मापदण्ड अनुगमनमा रोल्पा अस्पतालले हालसम्मकै उच्च अङ्क प्राप्त गरेको छ।
अस्पतालका मेसु डा लोकरत्न ज्ञवालीका अनुसार लुम्बिनी प्रदेशको अति दुर्गम स्थानमा रहेर पनि इतिहासमै पहिलो पटक अस्पतालले न्युनतम सेवा मापदण्डको स्कोर ८५ प्रतिशत ल्याइ नयाँ उचाई लिएको बताए। गत आर्थिक बर्षमा रोल्पा अस्पताल, रोल्पाले न्युनतम सेवा मापदण्ड को मुल्यांकनमा ६९ प्रतिशत अङ्क प्राप्त गरेको थियो।
लुम्बिनी प्रदेश सरकारको बार्षिक कार्यक्रम अन्तर्गत प्रदेश भित्र रहेका अस्पतालबाट प्रदान गरिने सेवाहरुलाई मापन गर्नको लागि न्युनतम सेवा मापदण्डको मुल्यांकन रिसोर्स पर्सनको रुपमा अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारी स्वास्थ्य निर्देशनालयको तर्फबाट नेतृत्व गर्दै टिमको लिड अडीटर रहेका थिए भने टोलीमा अडीटरको रुपमा स्वास्थ्य निर्देशनालयबाट कौशल भन्डारी, अस्मिता नेपाल , संदेश पौडेल थिए।
अस्पतालको अनुगमन तथा निरीक्षण कार्यक्रम मङ्सिर २८ र २९ गते गरि दुई दिनमा सम्पन्न भई अन्तिम दिन समिक्षा गरिएको थियो। समिक्षा कार्यक्रममा प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा सुदन कुमार ओलीले गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनैतिक दल, उद्योग बाणिज्य संघका अध्यक्ष, पत्रकार महासंघ, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा अन्य सम्पुर्ण सरोकारवाला निकायका उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको अस्पतालका मेसु डा लोकरत्ना ज्ञवालीले बताए।