काठमाडौं- बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल (केडीसीएच) शनिबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। दन्त शिक्षा तथा सेवाका क्षेत्रमा विशेष पहिचान बनाएको केडीसीएच सन् २००७ डिसेम्बर १६ देखि सञ्चालनमा आएको हो।
डेन्टल कलेज तर्फ काठमाडौँ विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यो संस्था नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगको स्विकृतिमा सञ्चालित छ।
शनिबार वार्षिकोत्सव समारोहमा केडीसीएचका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले आफ्नो संस्थाले दन्त शिक्षा र सेवाको क्षेत्रमा पुरयाएको योगदानको चर्चा गरे। उनले केडीसीएचबाट अहिलेसम्म १० लाख बढी व्यक्तिले दन्त उपचार सेवा लिएको भन्दै सयौँ चिकित्सक उत्पादन भइसकेको बताए।
‘हामी कहाँबाट व्याचलर ईन डेन्टल सर्जरी (बीडीएस) तर्फ ४६६ जना डाक्टर र मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ २८ जना विशेषज्ञ डाक्टर उत्पादन भइसक्नु भएको छ,’ डा श्रेष्ठले भने।
यसैबीच काठमाडौं विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस)मा सर्बोत्कृष्ठ एक जना विद्यार्थीलाई पनि स्वर्ण पदक दिने भएको छ। अहिलेसम्म केयुले एमबीबीएसमा सर्बोत्कृष्ठ हासिल गर्ने छात्र र छात्रालाई स्वर्ण पदक दिने गरेको छ।
कान्तिपुर डेन्टल कलेजका सञ्चालक समेत रहेका समाजसेवी तथा युवा उद्यमी डा। बुद्धिमान श्रेष्ठले बीडीएसमा सर्बोत्कृष्ठ स्थान हासिल गर्ने एक जना विद्यार्थीलाई स्वर्ण पदक दिने व्यवस्था मिलाउन १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। शनिबार कलेजको १६ औँ बार्षिकोत्सव समारोहमा उनले यस्तो घोषणा गरेका हुन्।