काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारीहरुले सदस्य सचिव डा प्रदीप ज्ञवालीको राजीनामा माग गरेका छन्। १७ जनाले हस्ताक्षरसहित सदस्य सचिवको राजिनामा मागेका छन्।
साथै उनको नेतृत्वमा काम गर्न नसकिने भन्दै स्वास्थ्य तथ जनसंख्यामन्त्री मोहन बस्नेतलाई ध्यानाकर्षण गराएका छन्।
राजिनामा माग गर्दै स्वास्थ्यमन्त्री बस्नेतलगायत स्वास्थ्य सचिव रोशन पोखरेललाई पनि त्यसको जानकारी दिइएको एक कर्मचारीले बताए।
ध्यानाकर्षण पत्रमा उनीहरुले दातृ निकायबाट प्राप्त बजेटका परियोजनामा पारदर्शिता नदेखिएको, नेपाल सरकारका कार्यक्रम समयमा सुरु नगरेको, यो आर्थिक वर्षको समेत हालसम्म कुनै कार्यक्रम सुरू नभएको, नेपाल सरकारबाट प्राप्त स्वीकृत कार्यक्रम भन्दा धेरै बाहिरका कार्यक्रमहरूमा प्राथमिकता दिँदा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रगति नदेखिएको, नेपाल सरकारको वार्षिक कार्यक्रमहरू महिनौ वितिसक्दा समेत सञ्चालन गर्न नसकेको र कार्यालयलाई शून्य अवस्थामा राखेको र अनुसन्धान शाखालाई निष्कृय बनाएको जस्ता आरोप लगाएका छन्।
त्यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान कर्मचारी प्रसाशन विनियमावली २०७९ को विनियम ३३ को उप विनियम २ (१) बमोजिम विज्ञापन आह्वान गरी कर्मचारी नियुक्ति गर्नुपर्नेमा टिप्पणीको आधारमा करिव ६० जना कर्मचारीहरूलाई तीन महिनाका लागि नियुक्ति गरिएको बताइएको छ।