काठमाडौं- सहिद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल आजबाट सकिएको छ। डा अधिकारीलाई चार वर्षअघि पुस ७ गते सोमबारको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
डा अधिकारीको कार्यकाल सकिएसँगै स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशकको खोजी अगाडि बढाएको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार नै नयाँ निर्देशकको फाइल उठाउन लगाएका छन्। यद्यपि फाइलमा निर्देशकको नाम भने लेखिएको छैन।
स्रोतका अनुसार नयाँ निर्देशकमा मुटु रोग विशेषज्ञ डा रवि मल्ल र डा अरुण मास्केको नाम चर्चामा आइरहेको छ। मन्त्रि बस्नेतले डा मल्ललाई नै निर्देशकको जिम्मेवारी दिन चाहेको स्रोतले जानकारी दिएको छ। 'निर्देशकमा को हुने भन्ने नामको टुंगो भने लागेको छैन। अहिलेसम्म चर्चामा डा मल्ल र डा मास्केको छ,' स्रोतले भन्यो, 'तर मल्लले भने निर्देशक हुने रुचि खासै देखाएको देखिँदैन।'